आहा रारा पोखरा गोल्डकप

आहा रारा गोल्डकपको उद्घाटन आज, विक्रमको प्रशिक्षणमा थ्री स्टार खेल्दै

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आज (मंगलबार) बाट पोखरा रंगशालामा सुरु हुँदै छ ।

प्रतियोगिताको २३औँ संस्करण २० माघसम्म चल्ने छ । उद्घाटन खेलमा सहिद स्मारक ए डिभिजन लिग टोली थ्री स्टार क्लब र आयोजक सहारा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा थ्री स्टार र सहाराबीचको यो तेस्रो भेट हो । ०६३ को संस्करणअन्तर्गत सेमिफाइनलमा थ्री स्टारले सहारालाई ३–० ले हराएको थियो । ०६९ को फाइनलमा थ्री स्टार १–० ले विजयी भएको हो ।

हालसम्म थ्री स्टारले पाँचपटक प्रतियोगिताको उपाधि जित्दा सहाराले एकपटक मात्रै उपाधि उचालेको छ ।

थ्री स्टार यसपटक पूर्व कप्तान विक्रम लामाको प्रशिक्षणमा छ । उनले सक्रिय खेल जिवनबाट टाढा रहने निर्णय जेठमै गरेका थिए । टोलीको कप्तानी अनुभवी खेलाडी विराज महर्जनले गर्नेछन् ।

लामाले नेपालमै उपलब्ध भएका खेलाडीबाट टोली निर्माण गरेका छन् । टोलीमा राष्ट्रिय टोलीका पूर्व कप्तान विराजसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका प्रशान्त अवस्थी, योगेश गुरुङ, रोशन राना मगर र अभिषेक बराल छन् ।

घरेलु लिगमा सानदार प्रदर्शन गर्दै आएका विवेक पौडेल, एन्जल महर्जन, दिपेश आले मगर, कुशल देउवा, आदित्य शाक्य, दिपेश घले, आशिष चापागाई र निरज चौधरी पनि थ्री स्टारमा छन् ।

सहाराको प्रशिक्षकमा सुनिल रानामगर र किरण श्रेष्ठ छन् । टोलीमा एकेडेमीका सातसहित २१ खेलाडी रहेका छन् । राष्ट्रिय टोलीबाट खेलिसकेका गोलकिपर टिकेन्द्र थापा मात्रै टोलीमा छन् ।

घरेलु लिगमा परिचित नाम आशिष गुरुङ, अमित तामाङ, सुशील लामा, लक्ष्मण रुचाल र विशोन गुरुङ पनि सहारामै छन् ।