अफ्रिका कप अफ नेसन्स

साविक विजेता सेनेगलको सहज जित

काठमाडौं । गाम्बियाविरुद्ध ३-० को सहज जित निकाल्दै साविक विजेता सेनेगलले अफ्रिका कप अफ नेसन्समा सुखद सुरुआत गरेको छ । 

आइभोरी कोस्टको चर्ल्स कोनान बिनी डी यामोसोक्रो रंगशालामा सोमबार सेनेगललाई जित दिलाउन लामिनी कामेराले दुई र पेपे गुइयीले एक गोल गरे ।

जितसँगै समूह ‘सी’ को सेनेगलले तीन अंक जोड्दा गाम्बियाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

खेलको चौथो मिनेटमै गुइयीको गोलमार्फत सेनेगलले अग्रता लिएको थियो । उनले साडियो मानेको पासलाई सदुपयोग गरेका थिए ।

 

पहिलो हाफको इन्जुरी समयमा इडो एडम्सले रातो कार्ड ब्यहोदै मैदान छाडेपछि गाम्बिया १० खेलाडीमा समेटिएको थियो । ५२ औं मिनेटमा इस्माइल सारको पासलाई पोस्टको दिशा दिँदै कामेराले टोलीको अग्रता दोब्बर बनाए ।

निर्धारित समय सकिन चार मिने्ट बाँकी छँदा कामेराले ब्यक्तिगत दोस्रो गोल गर्दै सेनेगललाई ३-० को सहज जित दिलाए । यस पटक उनले लिम्यान एनदिआयीको पासलाई सदुपयोग गरे ।