ब्रेरेटनको पहिलो अन्तर्राष्‍ट्रिय गोलमा चिलीको जित

रियो दी जेनेरियो, (खेलाडी)- बेन ब्रेरेटनले पहिलो अन्तर्राष्‍ट्रिय गोल गरेको खेलमा चिलीले शनिबार विहान बोलिभियामाथि १-० को जित हासिल गरेको छ । 

कोपा अमेरिकाको समूह ‘ए’ अन्तर्गत भएको खेलमा ब्रेरेटनले १०औं मिनेटमा गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । उनले इडुवार्डो भार्गसको पास उपयोग गर्दै अन्तर्राष्‍ट्रिय फुटबलमा डेब्यु गोल गरेका थिए । बाँकी समयमा पनि चिलीले नै खेलमाथि नियन्त्रण कायम राख्दा बोलिभिया पुनरागमन गर्न सफल भएन । तथापि चिलीले पनि गोल थप्‍न नसक्दा त्यही गोल तीन अंकका लागि पर्याप्त भयो ।

मार्टिन लासार्टेको टोलीले प्रतियोगिताको प्रमूख दावेदारमध्ये एक मानिएको अर्जेन्टिनासँग १-१ को बराबरी खेल्दै कोपा अमेरिकाको सुरुआत गरेको थियो । 

यो नतिजापछि टोली चार अंकका साथ कम्तिमा तीन घण्टाका लागि समूहको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा बोलिभियालाई ३-१ को नतिजामा हराएको पाराग्वे ३ अंकका साथ दोस्रो स्थानमा छ । १ अंक जोडेको अर्जेन्टिनाले केही बेरमा उरुग्वेसँग प्रतिस्पर्धा गर्दैछ । उरुग्वे र बोलिभियाले अहिलेसम्म समूहमा अंक जोड्न सकेका छैनन् ।