नेपाली फुटबल

वीरगंजलाई हराउँदै शीर्ष दुईमा उक्लने पोखराको लक्ष्य

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज (शनिबार) दुई खेल आयोजना हुँदैछ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा पहिलो खेल १ बजे वीरगंज युनाइटेड एफसी र पोखरा थन्डर्सबीच हुनेछ ।

प्रतियोगितामा वीरगंज लगातार दोस्रो जित निकाल्ने दाउँमा छ । पछिल्लो खेलमा वीरगंजले स्पोर्टिङ इलाम एफसीलाई २–१ ले हराएको थियो । त्यसअघिका चार खेल दुई बराबरी र दुई हार बेहोरेको थियो ।

पहिलो दुई खेलमा सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको वीरंगजले धनगढी एफसी र एफसी चितवनलाई २–१ को नतिजा सुम्पिएको थियो । ललितपुर सिटी एफसीसँग २–२ र झापा एफसीसँग गोलरहित बराबरी खेलेको हो ।

दीप कार्की मार्की तथा कप्तान रहेको वीरगंज पाँच खेलबाट एक जितसहित पाँच अंक जोडेर आठौं स्थानमा छ । आजको खेल जित्दै टोली पाँचौं स्थानमा उक्लने दाउमा छ ।

त्यस्तै, आयुष घलान मार्की रहेको पोखरा तेस्रो जितको खोजीमा छ । तालिकाको चौथो स्थानमा रहेको पोखराले पाँच खेलबाट दुई जित दुई बराबर र एक हारसहित आठ अंक जोडेको छ ।

नवीन न्यौंपानेको प्रशिक्षणमा रहेको पोखरा खराब लयमा रहेको वीरगंजलाई हराउँदै दोस्रो स्थानमा उक्लने दाउँमा छ । वीरगंजविरुद्ध दुई गोलको अन्तर जित निकाले पोखरा शीर्षस्थानमा उक्लने छ ।

दीनेश राजंवशी कप्तान तथा आइकोनिक रहेको पोखराले पहिलो खेलमा चितवनलाई १–० ले हराएको थियो । त्यसपछिका दुई खेलमा ललितपुर सिटीसँग गोलरहित र झापासँग १–१ गोलको बराबरी खेलेको हो । चौथो खेलमा इलामलाई १–० ले हराउँदा पाँचौं खेलमा काठमाडौं रेजर्ससँग २–१ ले पराजित भएको थियो ।