नेपाल सुपर लिग

नेपाल सुपर लिगः अग्रता जोगाउन नसक्दा चितवन ऐतिहासिक जितबाट बन्चित

काठमाडौं । इन्जुरी समयमा सम्हालिन नसकेपछि एफसी चितवन  नेपाल सुपर लिग (एनएसएल) मा ऐतिहासिक जितबाट बन्चित भएको छ ।

चितवन एनएसएलको दोस्रो संस्करणअन्तर्गत मंगलबार आफ्नो दोस्रो खेलमा साबिक विजेता काठमाडौं रेजर्ससँग १-१ को बराबरीमा रोकिएको हो ।

बराबरीसँगै काठमाडौंले दुई खेलमा चार अंक जोड्दा चितवनको समान खेलबाट एक अंक छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा विमल घर्ती मगरले गोल गरेपछि चितवन एनएसएलमा पहिलो जित नजिक थियो । तर इन्जुरी समयमा काठमाडौंका लागि एनकुंगे जुनियरले बराबरी गोल फर्काए ।

 पहिलो खेलमा पोखरा थन्डर्ससँग १-० ले पराजित चितवन पहिलो संस्करणमा जितविहीन थियो ।

१४ औं मिनेटमा काठमाडौंका टोजिडिनोभ कोमिवोनको प्रहार चितवनका गोलकिपर विशाल श्रेष्ठले सजिलै बचाए ।

२३ औं मिनेटमा काठमाडौंका शोखरुखको फितलो प्रहार बाहिरियो ।  त्यसको तीन मिनेटपछि रक्षक टेक राज बुढाथोकीको क्रसमा फरवार्ड रोशन राना मगरको फितलो प्रहार बाहिरिँदा चितवन अग्रता लिनबाट बन्चित भयो ।

पहिलो हाफ सकिन तीन मिनेट  बाँकी छँदा विमलको शक्तिशाली प्रहार बाहिरिन पुग्दा चितवनले अग्रता लिने अवसर गुमाएको थियो ।

दोस्रो हाफको सुरुआती ६ मिनेटमा रफिक अमिनुको प्रहारले गोल पोस्टको दिशा लिन नसक्दा चितवनले फेरि पनि अग्रता लिन सकेन ।

६७ औं मिनेटमा वैकल्पिक खेलाडी राजीभ लोप्चनले टोरिक जेब्रिनलाई लडाएपछि चितवनले ३५ यार्ड पर फ्रिकिक पाएको थियो । तर, रफिकको फ्रिकिकले खतराको मोड लिनुअघि काठमाडौंका रक्षक अन्जन राईले बल क्लियर गरिदिए ।

७३ औं मिनेटमा चितवनले अर्को अवसर गुमायो । मिडफिल्डर अफ्रिइ अक्वाहको वान टच पासमा विमलको प्रहारले गोल पोस्टको दिशा लिन सकेन ।

८६ औं मिनेटमा नवयुग श्रेष्ठको क्रसमा विमलले गरेको कटब्याक शोखरुखको खुट्टामा लागेर गोलमा परिणत भएको थियो ।

इन्जुरी समयमा जुनियरले विपक्षी रक्षक तालमेलमा चुकेको फाइदा उठाउँदै सुन्दर भली गोल गर्दै काठमाडौंलाई बराबरीमा ल्याए ।

पहिलो खेलमा काठमाडौंले स्पोर्टिङ इलाम एफसी डि मेचीलाई १-० ले हराएको थियो ।