आफ्नो क्लब भविष्यका बारेमा छिट्टै आधिकारिक धारणा सार्वजनिक गरिदिन ब्रुजको आग्रह

लन्डन, (खेलाडी)-  न्युक्यासल युनाइटेडका प्रशिक्षक स्टिभ ब्रुजले टोटेनहमसँगको हारपछि क्लब भविष्य आफ्नो हातमा नभएको प्रतिक्रिया दिएका छन् ।

आइतबार राती भएको खेलमा टोटेनहमले न्युक्यासललाई ३-२ ले हराएको थियो ।

ब्रुजले आफ्नो भविष्यका बारेमा क्लबले छिट्टै्र निर्णय गरेमा आगामी योजना बनाउन सहज हुने बताए ।

'अब निर्णय मेरो हातमा छैन,' ब्रुजले भने, 'तर म चाहन्छु क्लबले मेरो प्रशिक्षणलाई निरन्तरता दिने वा नदिनेबारे छिट्टेै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरोस् । मैले क्लबलाई नतिजा दिन सकिरहेको छैन, त्यसैले दबाबमा छु । प्रिमियर लिग वा अन्य लिगहरुमा पनि कुनै क्लब आठ खेल सम्म जितविहिन बन्छ भने प्रशिक्षक दबाबमा आउनु स्वभाविक पनि हो । '

'क्लबमा नयाँ मालिक भित्रिएका छन्',ब्रुजले भने, 'उनीहरुले मलाई सम्मान गर्छन । सबै कुरा एकै दिनमा हुने होइन । हो हामी स्वभाविक लयमा छैनौ तर यसको अर्थ हामी कहिले पनि माथि आउदैनौ भन्ने होइन ।हामीलाई स्वभाविक लयमा फर्कन केही समय लाग्छ तर त्यसका लागि केही समय दिनुपर्छ ।'

आठ खेलको समाप्तीमा न्युक्यासल दुई बराबरी र ६ हारपछि दुई अंकका साथ प्रिमियर लिग तालिकाको अन्तिम स्थानमा छ ।