क्रिस्टियानो रोनाल्डो

अल नासरको लगातार दोस्रो हार

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसम्मिलित साउदी प्रो लिग क्लब अल नासरले प्रि सिजनमा लगातार दोस्रो हार बेहोरेको छ ।

सिजनअघि युरोप भ्रमणमा रहेको एसियाली क्लब शुक्रबार बिहान पोर्चुगिज क्लब बेन्फिकासँग ४–१ ले पराजित भएको हो । यसअघि स्पेनिस क्लब सेल्टा भिगोसँग ५–० ले पराजित भएको थियो ।

पोर्चुगलको फारोमा भएको खेलमा रोनाल्डोले आफ्ना पूर्वसहकर्मी एन्जल डि मारियासँग प्रतिस्पर्धा  गरेका थिए । ८४ मिनेट मैदान बिताएका रोनाल्डो गोलविहिन रहे ।

कतार फिफा विश्वकप विजेता डि मारिया र रोनाल्डो कुनै समय स्पेनिस महारथी रियाल मड्रिडबाट एकसाथ खेलेका थिए ।

यसैसिजन युभेन्ट्सबाट बेन्फिका पुगेका डि मारियाले ४६ मिनेट मैदान बिताउँदा एक गोल गरेका हुन् । खेलको २२औं मिनेटमा राफा सिल्भाको पासमा डि मारियाले बक्सभित्रबाट उत्कृष्ट डेब्यु गोल गरेका हुन् ।

बेन्फिकाको जितमा गोन्कालो रामोसले दुई गोल गरेका थिए । आन्द्रेस स्जेलडेरुपले एक गोल थपे । अल नासरको लागि खालिद अल घानमले एक गोल फर्काएका हुन् ।

प्रि सिजनमा अल नासरले पेरिस सेन्ट जर्मेन (पिएसजी) र इन्टर मिलानसँग खेल्ने तालिका छ । यसपछि क्लब अरब क्लब च्याम्पियन कपमा सहभागी हुनेछ ।

अल नासरमा रोनाल्डोसँगै क्रोएसियाका मार्सेलो ब्रोजोभिक अनुबन्ध छन् । उनी यसैसिजन क्लब आएका हुन् ।