काठमाडौं । जेठ २५ को कुरा हो । दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको १४ औं संस्करणका लागि नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले २३ सदस्यीय टोली घोषणा गरिसकेका थिए । सोही दिन भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा विमल पाण्डे बुट ‘डाक्टर’कहाँ आफ्नो जुत्ता बनाइरहेका थिए । त्यही समय क्लबका व्यवस्थापक चुनबहादुर थापाको फोन आयो ।
विमल र चुनबहादुरबीचको टेलिफोन संवाद जहिल्यै फुटबल गतिविधिकै बारेमा हुने गर्छ । त्यस दिन पनि उनीहरूबीच फुटबल बारेमै संवाद भयो । तर, त्यो कुराकानी फुटबलमा १५ वर्ष बिताइसकेका विमलका लागि एकदमै खास रह्यो ।
फोन उठाउनेबित्तिकै चुनबहादुरले विमललाई बधाई दिए । ‘साफका लागि छनोट भइस् बधाई छ,’ विमलले हेलो भन्नासाथ चुनबहादुर बोलेका थिए ।
‘हो र ! ह्या, होइन होला गुरु । कस्तो हावा कुरा गर्नुभएको गुरुले । कहाँ पर्छु र म,’ ३३ वर्ष पुगिसकेका विमललाई विश्वासै लागेन ।
‘उताबाट अन्तिम सूची आइसक्यो । तँ परेको छस्,’ चुनबहादुरले विमललाई विश्वास दिलाए ।
पहिलो पटक राष्ट्रिय टोलीमा परेको खबर सुनेपछि विमलको खुसीको सीमा रहेन । यही मौकामा विमलले हेटौंडामा रहेका भाइ राजेश (काकाका छोरा) लाई खुसीको खबर सुनाए । त्यसपछि आमाबुवालाई फोन गरे । लगत्तै प्रशिक्षक नवीन न्यौपानेबाट फोनमै बधाई लिए ।
‘नसोचेको कुरा भयो । पटक–पटक घाइते भइरहेको थिएँ । खेलिरहेको पनि थिइनँ । अन्तिम टोलीमा आफ्नो नाम देख्दा आफै दंग परें,’ विमलले त्यो दिन सम्झे, ‘यसपालि हाम्रो बलिया टिमहरूसँग खेल्ने तालिका थियो । प्रशिक्षकले पनि मेरो उचाइ र शारीरिक पक्ष बलियो भएकाले टोलीमा समावेश गरेजस्तो लाग्यो । त्यसमाथि लेफ्ट डिफेन्समा खेलाडीहरू पनि थिएनन् । विकास भाइ (खवास) पनि चोटका कारण मैदान बाहिर थिए ।’
कर्मकाण्डी ए डिभिजन लिगका कारण नेपाली टोलीले यसपालि साफ च्याम्पियनसिपलाई पर्याप्त तयारी गर्न पाएको थिएन । दिन बिराएर भएका लिगका कारण खेलाडीहरू फिटनेसमै संघर्ष गरिरहेका थिए ।
निकै व्यस्त तालिकाबीच देशभित्र दुई दिनमात्र अभ्यास गरेर राष्ट्रिय टोली जेठ २९ मा अभ्यासका लागि फिलिपिन्स गएको थियो ।
साफको पूर्वसन्ध्यामा तयारीस्वरुप जेठ ३२ मा नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्यो । प्रशिक्षक एनिसले फिलिपिन्ससँग दुई नयाँ अनुहारलाई पहिलो रोजाइमै मैदान उतारे । ‘डेब्यु’ गर्ने खेलाडी थिए लाकेन लिम्बु र यिनै विमल । सेन्ट्रल डिफेन्स खेल्ने विमललाई लेफ्ट डिफेन्सका रूपमा प्रयोग गरिएको थियो ।
विमलको राष्ट्रिय जर्सी लगाएर खेल्ने सपना पूरा भयो । ‘डेब्यु’ खेलमै विमलले निर्धारित ९० मिनेट खेले । तर, टोलीलाई हारबाट जोगाउन भने सकेनन् । सामान्य गोल खान पुग्दा नेपाल १-० ले पराजित भयो ।
‘छुट्टै महसुुस हुँदोरहेछ । देशको झन्डा रहेको जर्सी लगाउन पाउँदा एकदमै गर्व महसुस गरें,’ विमलले भने, ‘हरेक खेलाडीको चाहना हुन्छ, एकदिन राष्ट्रिय टोलीका लागि खेल्ने । मैले यसको लागि निकै कुरें । फिलिपिन्स राम्रो टोली हो । त्यसैले प्रेसर लिइयो, मज्जा पनि लिइयो ।’
विमलको पर्खाइ
हर्नामाडी, हेटौंडा उपमहानगरपालिका-१८ मा जन्मेका विमलले आर्मीमा जागिर खानुभन्दा अगाडि कुनै पनि श्रेणीको फुटबल खेलेका थिएनन् ।
फुटबलमा भने बाल्यावस्थादेखि नै रुचि राख्थे । यही रुचिबीच विमल मकवानपुरमै रहेको हटिया स्पोर्ट्स एकेडेमीमा आबद्ध भए । हटिया जिल्लामा खेलाडी उत्पादन गर्ने पुरानो एकेडेमी हो । त्यहाँ केही वर्ष खेलेपछि विमलले टीकाराम लामाको एफसी पोर्टाला क्लबबाट खेल्ने मौका पाए । पोर्टालामा विमलले हकलाग्दो मौका पाउँथे । प्रदर्शन स्तरीय नै थियो । क्लबलाई तीनपल्ट जिल्ला लिगको उपाधि जिताए ।
जिल्ला लिगमा गरेको प्रदर्शनले विमल हेटौंडामा चिनिन थाले । स्थानीय बालबोध माध्यमिक विद्यालयमा आफ्नो स्कुले जीवन बिताएका विमल २०६५ मा काठमाडौं आए । काठमाडौं आउनुको एउटै कारण थियो आर्मीमा आबद्ध हुने ।
यसका लागि विमलले आर्मीमा ९ महिना तालिम गरे । त्यसपछि विमलको पोस्टिङ हेटौंडाको भैंसेमा भयो, जहाँ उनले पुनः फुटबल वातावरणमा होमिने मौका पाए । भैंसेपछि विमल गण छनोटका लागि काठमाडौं फर्किए । गणमा छनोट भएपछि प्रधानसेनापति कप खेले । पहिलो पटक नै विमलको टिमले फाइनलसम्म यात्रा गर्यो ।
प्रधानसेनापतिमा विमलले गरेको प्रदर्शनले आर्मी क्लबका पदाधिकारीहरू लोभिए । सोही वर्ष क्लबले विमललाई क्लबमा बोलाए । तर, विमलले विभिन्न कारणले त्यस प्रस्ताव अस्वीकार गरे । दुई वर्षपछि क्लबले दोस्रोपल्ट बोलाएपछि भने विमल क्लबमा आबद्ध भए ।
विमल आर्मीमा आबद्ध भएको १५ वर्ष पूरा भइसकेको छ । भर्खरै आर्मीबाट आफ्नो चौथो लिग खेल्न भ्याएका छन् । २०७५ को संस्करणदेखि विमलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मीको प्रतिनिधित्व गरेका हुन् । यसबीच क्लब लगातार दुईपल्ट २०७५ र २०७६ मा उपविजेता बनेको थियो ।
आर्मीको पहिलो टोलीमा पर्नु अगाडि विमलले मकवानपुर-११ बाट मोफसलका धेरै प्रतियोगिताहरू खेले ।
‘मकवानपुरले बोलाउँदा जागिरबाट बिदा लिएर झापा, वीरगन्ज र चितवनमा मोफसलका प्रतियोगिताहरू खेल्न जान्थें । आज आएर ती दिनहरूको महत्व बढेको छ,’ अलिकति भावुक हुँदै विमलले सुनाए ।
सायद परिवारले त्यतिबेला फुटबलको महत्व बुझेको भए विमलको फुटबल करियरले अर्कै मोड लिन्थ्यो । २० वर्षअगाडिको कुरा हो । एन्फा एकेडेमी आफ्नो दोस्रो ब्याचको टिम ‘बी’का लागि १४ वर्षमुनिका खेलाडी छनोट गर्दै थियो । मकवानपुरमा छनोट कार्यक्रम हुँदै थियो । विमललाई पनि छनोटमा जान मन थियो । तर, परिवारले जान दिएन ।
‘एकदमै जान मन थियो । तर, पढाइ बिग्रिन्छ भनेर जान दिनुभएन,’ विमलले दुखेसो पोखे । एन्फाको दोस्रो ब्याच भनेको विराज महर्जन, विक्रम लामा, किरण चेम्जोङ दीक्षित भएको पुस्ता हो । अहिले यिनै किरण राष्ट्रिय टोलीमा कप्तानको भूमिकामा छन् । क्यापकै कुरा गर्ने हो भने किरणसँग देशका लागि सर्वाधिक ९० पटक खेलेको अनुभव छ ।
विराट गोल्डकपमा किरणविरुद्ध त्यो गोल
विमलले आर्मी ‘ए’ बाट पहिलो रोजाइमा मौका पाउन थालेको २०७३ देखि हो । २०७४ चैतमा सम्पन्न विराट गोल्डकपपछि भने विमल घरेलु फुटबल समर्थकमाझ परिचित हुन थालेका हुन् ।
पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै आर्मी सेमिफाइनल पुगेको थियो ।
सेमिफाइनलमा आर्मीको भेट झापा ११ सँग थियो । तर, खेल निर्धारित समयभन्दा केही मिनेट ढिला सुरु भयो । आर्मी खेलका लागि तयार रहे पनि विपक्षी झापाले प्राविधिक समस्याको कारण देखाएर खेल ढिला गरिरहेको थियो । कारण, गोलकिपर किरण झापाको प्रतिनिधित्व गर्नका लागि काठमाडौंदेखि विराटनगर उडेका थिए । आर्मीका खेलाडीले यो कुरा पछि थाहा पाए । किरण आउन ढिला भएपछि अन्ततः खेल सुचारु भयो ।
निर्धारित पहिलो हाफ सकिन तीन मिनेट बाकी छँदा मनोज प्रधानलाई प्रतिस्थापन गर्दै किरण वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।
दोस्रो हाफमा विमलले हेडमार्फत उत्कृष्ट गोल गरे । जुन गोल नै निर्णायक गोल हुन पुग्यो । ६७ औं मिनेटमा आर्मीले कर्नर प्राप्त गरेको थियो । प्राप्त कर्नर भरत खवासले प्रहार गरे । पेनाल्टी बक्सको मध्यभागको टचलाइनमा रहेका विमल पहिलो बारमा दौडिए । बल लिन किरण पनि दौडिए, तर उनलाई बिट गर्दै विमलले गरेको हेडले दोस्रो बारको जाली चुम्यो ।
‘किरण जस्तो गोलकिपरलाई बिट गर्दै गोल गर्न सकें । टिमलाई फाइनल पुर्याउन पाएँ । त्यो क्षण मेरो करियरकै बिर्सन नसक्ने क्षणमध्ये एक हो । त्यतिबेला झापा हामीभन्दा बलियो थियो, उनीहरूले मलेसियन खेलाडीहरू क्लबमा ल्याएका थिए । त्यसमाथि नेपालको नम्बर एक गोलकिपर रहँदा हामीलाई गाह्रो भएको थियो,’ विमलले भने ।
फाइनलमा भने आर्मी थ्रीस्टारसँग ३-० ले पराजित भयो । हिलाम्ये सहिद मैदानमा थ्री स्टारका लागि युवा स्टार विमल घर्तीमगरले दुई र विदेशी खेलाडी अजयी मार्टिन्सले एक गोल गरे ।
विराट गोल्डकपपछि भने विमलले कहिल्यै फर्केर हेर्नुपरेन । मोफसलका अधिकांश प्रतियोगिताहरू खेले । २०७५ सालको लिगदेखि घरेलु लिगमा नियमित छन् । यसबीच विमलले २०७६ मा भएको आठौं राष्ट्रिय खेलकुदमा आर्मीबाट स्वर्ण पदक जितेका थिए । फाइनलमा आर्मीले पुलिसलाई १-० ले हराएको थियो । तीन वर्षपछि गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुदमा भने आर्मी एपिएफसँग टाइब्रेकरमा ५–६ ले पराजित हुँदै रजत पदकमा सीमित भयो ।
साफ च्याम्पियनसिप
अब प्रसंग साफ च्याम्पियनसिपको । फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलपछि टोली साफ च्याम्पियनसिप खेल्न भारतको बैंगलुरु प्रस्थान गरेकोे थियो । समूह ‘ए’को पहिलो खेलमा नेपालले कुवेतविरुद्ध ३-१ को हार भोग्यो । दोस्रो खेलमा आयोजक भारतसँग २-० ले पराजित भएपछि नेपाल समूह चरणबाटै एक खेलअगावै बाहिरियो । तेस्रो खेलमा कमजोर पाकिस्तानमाथि १-० को कठिन जित निकाल्दै नेपाल बुधबार राति नेपाल फर्केको हो । विमलले कुवेतविरुद्ध पहिलो रोजाइमै खेले । दोस्रो खेलमा बेन्चमा बसेका विमल तेस्रो खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए ।
साफमा नेपालको नतिजा अपेक्षित थियो । विगतमा उपाधिको दाबेदार रहने गर्दा नेपालको तयारी सधैं विशेष रहने गर्थ्यो । तर यसपालि टोलीको तयारी विगतका तुलनामा निकै कमजोर रह्यो । त्यस्तै क्षमतावान खेलाडीको विदेश पलायन, उपलब्ध खेलाडी पनि थकित र घाइते भएकाले नतिजा अनुमानित थियो ।
यसका बावजुद खेलाडीहरूले शतप्रतिशत दिए । विमल आफैं भन्छन्, ‘हामीले राम्रो खेलेको हो । बलिया टोलीसँग राम्रो खेल्दा खेल्दै पनि प्रशिक्षण समय नपाउँदा उनीहरू हामीभन्दा हाबी भए ।’
अनि व्यक्तिगत अनुभव नि ? पहिलो पटक साफ खेल्न पाउँदा कस्तो अनुभव भयो ?
‘नेपालको प्रतिनिधित्व गर्दा रमाइलो लाग्यो । मैले व्यावसायिक जीवन सुरु गरेयता चार पाँचवटा साफ संस्करणहरू गइसके । मलाई पनि साफ कहिले खेलुँ जस्तो हुन्थ्यो । अहिले आएर खेल्न पाएँ । मैले यसका लागि एकदमै मिहिनेत गरेको थिएँ । तर, परिनँ भनेर मैले कहिले हिम्मतचाहिँ हारेको थिइनँ । एक न एकचोटि नेपालको जर्सी लगाएर साफमा देशको प्रतिनिधित्व गर्छु भन्ने चाहिँ थियो,’ हर्षित हुँदै विमलले सुनाए ।
साफकै लागि नभएर यसबाहेक विमलले प्रारम्भिक टोलीमा भने स्थान बनाइसकेका थिए । जापानी प्रशिक्षक ग्योतोकु कोजी र स्विडिस प्रशिक्षक योहान कालिनले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका बेला पनि विमल प्रारम्भिक टोलीमा अटाएका थिए । अभ्यासको मौका पनि पाएका थिए । अन्तिम टोलीमा भने यो पहिलोचोटि हो ।
३३ वर्षे विमलले करियरको अन्त्यतिर राष्ट्रिय टोलीमा मौका पाएका हुन् । राष्ट्रिय टोलीमा पर्ने हो भने विमल अझै एक वर्ष मिहिनेत गर्ने सोचमा छन् । त्यसपछि आफ्नो जागिरमा पूर्ण रूपमा समय दिने । विमलको अर्को चाहना भनेको छोरालाई पनि फुटबल खेलाडी बनाएर राष्ट्रियस्तरमा पुर्याउने । एक छोरा र एक छोरीका बुवा विमललाई आफ्ना बच्चालाई पनि राष्ट्रिय स्तरसम्म पुगेको हेर्न मन छ । फुटबल विकास भएको खण्डमा मात्र ।
विमलले नेपाली फुटबलमा कत्तिको छाप छोडेका छन्, ती कुराहरू भोलिका दिनमा होला नहोला, थाहा छैन । तर, नेपाली फुटबलमा विमलले एउटा उद्धरणलाई भने प्रमाणित गरेका छन्, जसले आउने पुस्तालाई प्रेरणा मिलेको छ । त्यो उद्धरण हो, ‘आत्मविश्वास, धैर्य र कडा परिश्रमले तपाईंलाई सफलता दिलाउने छ ।’