वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता

भेट्रान फुटबलः फ्रिडम र कपन क्वार्टरफाइनलमा

वडा अध्यक्ष कप भेट्रान फुटबलका ‘म्यान अफ द म्याच’ तीर्थ लामालाई ट्रफी प्रदान गरिदै

काठमाडौं। साबिक विजेता फ्रिडम फाइटर र कपन भेट्रान दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा ७ द्धारा आयोजित प्रतियोगितामा बिहीबार फ्रिडमले भूपु सैनिक, रुपन्देहीलाई ४-० ले पराजित गरेको हो । विजयी टोलीका लागि का लागि विकर्ण श्रेष्ठ, नरकुमार राई, राजकुमार केसी र सरोज थापाले समान एक गोल गरे ।

कपनले बिभिसी, बनेपालाई २-१ ले हरायो । कपनका देवराज नेपाली र पासाङ शेर्पाले गोल गरे । बिभिसीका सञ्जय राना मगरले एक गोल फर्काए ।

चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भइरहेको प्रतियोगितामा चितवन, रुपन्देही र बौद्ध भेट्रानले पनि क्वार्टरफाइनलमा स्थान बनाए ।

चितवनले थापागाउँमाथि २-१ को जित दर्ता गर्यो । चितवनका धनबहादुर गुरुङ र रविन्द्र श्रेष्ठले समान एक गोल गरे । थापागाउँका हरिहर थापाले सान्त्वना गोल फर्काए ।  

यम राणाको निर्णायक गोल मद्दतमा रुपन्देहीले नुवाकोट दरबारलाई १-० ले हरायो । हेटौंडा भेट्रानविरुद्धको खेलमा बौद्ध भेट्रान २-० ले विजयी भयो । बौद्धका तीर्थ लामा र सिराज क्षेत्रीले समान एक गोल गरे ।