नेपाली फुटबल

साफको उपाधि जित्ने दाबी गर्न सकिँदैनः कप्तान किरण

फाइल फोटो

काठमाडाैं । नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जाङले अहिलेको अवस्थामा दक्षिण एसियाल फुटबल महासंघ (साफ) च्याम्पियनसिपको उपाधि जित्ने दाबी गर्न नसकिने बताएका छन् ।

किरणले साफअघि मैत्रिपूर्ण खेलका लागि फिलिपिन्स जाने टोलीको बिदाइ कार्यक्रममा उपाधि जित्ने दाबी गर्न नसकिने बताएका हुन् ।

साफको तयारी स्वरुप नेपालले फिलिपिन्ससँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो । नेपाल टोली उतैबाट भारत प्रस्थान गर्नेछ ।

‘कडा चुनौती छ । उपाधि नै जित्ने दाबी गर्न सकिने अवस्था छैन । योजनाअनुसार एक परिवार भएर खेल्ने छौं । मेरो मात्र हैन सबै नेपालीको सपना हो साफ जित्ने । सरकार र संघबाट अहिले जाती सेवा सुविधा पाएका छौं, त्यतीले सोच्ने भने कै साफ हो । साफ भन्दामाथि सोच्न त त्यही अनुसारको सेवा सुविधा हुनुपर्छ,’ किरणले भने,‘ खेलाडी विदेश पलायन भएको देख्दा दुःख लाग्छ । कोचले विश्वास गरेर टोली बनाएका छन् । ती खेलाडी पनि विदेश जान्छन् कि भन्ने डर छ। यस्तो अवस्थामा समर्थकले साथ दिएका छन्। अझै हौसला दिनुस।’

यसैगरी किरणले विगतमा भन्दा यस पटकको साफ निकै प्रतिस्पर्धात्मक हुने भएकाले राम्रो नतिजाका लागि आफूले सकेको गर्ने बताए ।

‘साबिक उपविजेता हौ। टोलीमा नँया खेलाडीको बाहुल्यता छ। कुवेत र लेबनानले गर्दा प्रतिस्पर्धा विगतको भन्दा राम्रो हुन्छ ।  चुनौती छ । राम्रोसँग अभ्यास गर्न पाएको छैन । अभ्यासका लागि थोरै समय  भएकाले तालमेल राम्रो छैन । ग्रुप पनि गाह्रो छ। राम्रो नतिजाका लागि सक्दो गर्नेछौं । अहिले साफ भन्दा पनि फिलिपिन्सविरुद्धको खेलमा केन्द्रत हुने छौं,’ कप्तान किरणले थपे ।

यसैगरी मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफ्ना लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको बताए ।

‘सबै खेलाडी राम्रा छन् । थ्री नेसन्स कप भयो । म चाहन्छु मेरो खेलाडी मानसिक रुपमा तयार हुन् । हामी राम्रो प्रदर्शन र नतिजा निकाल्न चाहन्छौँ । छनोट गरेको खेलाडीलाई विश्वास गर्छु । अनुभवी छन् । मेरो पहिलो साफ हो । एसियामा यो मेरो पहिलो ठूलो प्रतियोगिता हो त्यसैले यो निकै महत्त्वपूर्ण छ । संधै नेपाललाई समर्थन गर्नुस्,’ प्रशिक्षक एनेसले भने ।

साफ च्याम्पियनसिपको १४औं संस्करण असार ६ देखि १८ गतेसम्म बेङ्गलुरुमा हुनेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

फिफाको प्रतिबन्धको कारण श्रीलंकाले यस संस्करण खेल्ने छैन भने कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउन लागेका हुन् ।

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसहित साबिक विजेता तथा आयोजक भारत, कुवेत र पाकिस्तान तथा समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश  छन् ।  

असार ६ मा हुने उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्नेछ । यो खेल नेपाली समयअनुसार दिउँसा ३ः४५ बजे सुरु हुनेछ ।

यसैगरी नेपालले असार ९ मा आयोजक भारत तथा असार १२ मा पाकिस्तानविरुद्ध खेल्नेछ ।

माल्दिभ्समा भएको १३ औं साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३(० ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।

नेपालको टोली

गोलकिपरः  किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

रक्षकः  रोहित चन्द, अनन्त तामाङ, देवेन्द्र तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, निशान्त खड्का, सिमान्त थापा,

मिडफिल्डरः  पुजन उपरकोटी, नवीन लामा, एरिक विष्ट, मणिकुमार लामा, लाकेन लिम्बु, आवास लामिछाने

फरवार्डः  नवयुग श्रेष्ठ, अन्जन विष्ट, विमल घर्ती मगर, आयुष घलान, दिपकराज सिंह ठकुरी, मनिष डाँगी, आशिष चौधरी,