च्याम्पियन्स लिगको उपाधि

सिटीलाई च्याम्पियन्स लिगको उपाधि

लन्डन । रोर्डीको निर्णायक गोलमा म्यानचेस्टर सिटीले शनिबार इन्टर मिलानमाथि १-० को जितसहित च्याम्पियन्स लिगको उपाधि जितेको छ । 

६८औं मिनेटमा रार्डीले गरेको गोल सिटीको च्याम्पियन्स लिगको उपाधि सपना साकार पार्न पर्याप्त भयो ।

यसअघि नै प्रिमियर लिग र एफए कप जितेको सिटीले च्याम्पियन्स लिगसहित सिजनको तेहेरो उपाधि पक्का गरेको हो । सिटी म्यानचेस्टर युनाइटेडपछि एकै सिजन तेहेरो उपाधि जित्ने पहिलो इङ्लिस टोली हो । 

इङ्लिस प्रिमियर लिगको पछिल्लो ६ सिजनमा ५ पटक उपाधि जिते पनि सिटीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको थिएन । 

सिटीले च्यापियन्स लिग जितेको यो पहिलो पटक हो । सन् २०२१ को फाइनलमा प्रवेश गरे पनि सिटी चेल्सीसँग निराश भएको थियो । गत सिजन भने सिटीको यात्रा रियाल मड्रिडले सेमिफाइनलमा पूर्णविराम लगाइदिएको थियो । 

खेल सकिन २ मिनेट बाँकी रहँदा रोमेलु लुकाकुको हेडर सिटीका गोलकिपर इडरसनको खुट्टामा लाग्दै बाहिरिँदा इन्टरले खेलमा फर्कने अवसर खेर फालेको थियो ।