स्पेनिस ला लिगा

बार्सिलोनालाई ला लिगाको उपाधि

मड्रिड । स्पानियोलमाथि ४-२ को जितसहित बार्सिलोनाले आइतबार स्पेनिस ला लिगाको उपाधि जितेको छ । 

आरसिडीइ स्टेडियममा निकालेको जित बार्सिलोनाका लागि २७औं पटक ला लिगा जित्न पर्याप्त बन्यो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोवस्की दुई तथा एलेजान्ड्रो ब्लेड र ज्युल्स कोन्डेले समान एक गोल गरेका थिए । स्पानियोलका जाभियर पुवाडो र जोसेलुले समान एक गोल गरेका थिए । 

बार्सिलोनाले सन् २०१८–१९ सिजन पछि ला लिगाको उपाधि जितेको यो पहिलो पटक हो । शीर्ष स्थानको बार्सिलोनाको ३४ खेलमा ८५ अंक छ भने दोस्रो स्थानको रियाल मड्रिडको समान खेलमा ७१ अंक छ । 

खराब आर्थिक अवस्था र लियोनल मेसीको बर्हिगमनपछि लय गुमाएको बार्सिलोना यस सिजन भने ला लिगाको सुरुआतबाटै उच्च लयमा देखिएको थियो । यसै सिजन मात्र बार्सिलोना आएका लेवान्डोवस्की क्लबको उपाधि लक्ष्यमा प्रमुख पात्र बने । उनले लिगमा २१ गोल गरे । 

बार्सिलोनाले शनिबार रियाल सोसिडाडविरुद्ध खेल्नेछ भने स्पानियोलले रायो भालेकानोविरुद्ध खेल्नेछ ।