सहिद स्मारक ‘ए’ डिभिजन लिग

आजबाट लिग सुरु हुँदै , एन्फाको तयारी सुस्त

काठमडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग आजबाट सुरु हुँदै छ तर लिगको तयारीमा आयोजक अखिल नेपाल फुटबल संघ( एन्फा) को तयारी भने सुस्त देखिएको छ ।

यस सिजन मात्र ए डिभिजनमा बढुवा भएको नवप्रवेशी क्लब एफसी खुमलटार र फेन्ड्स क्लबको खेलसँगै साढे  पाँच बजे त्रिुपरेश्वरस्थित दशरथ रंगशालामा यस सिजनको लिग सुरु हुँदैछ ।

लिग सुरु हुन पाँच घण्टामात्र बाँकी रहँदा उद्घाटन खेल हुने दशरथ रंगशाला भने सुनसान छ ।

एन्फाले लिगको तयारीमा सुस्त देखिएको भन्दै  संकटा क्लबका अध्यक्ष  इन्द्रमान तुलाधरले असन्तुष्टि जनाएका छन् ।

‘लिग सुरु हुन अबको केही घन्टा मात्र बाँकी छ, न मुख्य प्रयोजकको ब्यानर छ, न रनिङ ब्यानरहरु छन् । प्लेयर्स बक्स पनि छैन । प्रचारका कुनै सामाग्री छैनन् ।   यो त कुनै टोलमा हुने प्रतियोगिता भन्दा पनि झुर छ,’ तुलाधरले भने‘ यस्तो पाराले कसरी नेपाली फुटबलको विकास हुन्छ ?।’

 तुलाधरले असन्तुष्टि पाेखेर गएकाे केही समय पछि भने एन्फाले  मुख्य प्रयोजक, प्रायोजक लगायतका बोर्ड लगाउन थालेकाे छ ।