भद्रपुर-झापा गोल्डकप

आयोजक भद्रपुरलाई हराउँदै संकटा सेमिफाइनलमा

काठमाडौं ।  आयोजक भद्रपुर ब्लेजर्सलाई १-० ले पराजित गर्दै संकटा क्लब झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर-झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टरफाइनल खेलको पाँचौँ मिनेटमा संकटाका मनिष डाँगीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको भद्रपुर ब्लेजर्सले आक्रमक खेले पनि पराजित हुन पुग्यो । आयोजकले खेल अवधिभर दर्जन बढी अवसर बनाउँदा पनि सदुपयोग गर्न सकेन । 

सुरुआतमै  गोल ब्यहोरेपछि दबाबमा परेको आयोजक गोल गर्न चुक्दा क्वाटरफाइनलबाटै बाहिरियो । आयोजक भद्रपुर ब्लेजर्सका दुई गोल बारमा ठोकिएर फर्कियो ।

प्लेयर अफ द म्याच चर्च संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापा घोषित भए । उनले २० हजार रुपैयाँ पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

पहिलो खेलमा भद्रपुर ब्लेजर्सले पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउँदा संकटाले बाई पाएर सिधै क्वार्टरफाइनल खेलेको थियो ।

बुधबारको क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड र गत वर्षको लिग विजेता मच्छिन्द्र क्लबबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

 प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट गोलरक्षक,  उच्च गोलकर्ता,  उदयीमान खेलाडी, उत्कृष्ट रक्षक,  उत्कृष्ट मिडफिल्डर,  उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार तथा  सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।