वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

लुम्बिनीले दियो मधेस प्रदेशलाई दुई सय २३ रनको लक्ष्य

काठमाडौं । लुम्बिनी प्रदेशले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेश सामु जितका दुई सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएकोे लुम्बिनीले निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय २२ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि प्रज्वल थापाले एक सय २८ बलमा नौ चौका र दुई छक्कामद्दतमा सर्वाधिक ८५ रनको योगदान दिए । यस्तै आकाश त्रिपाठीले २३, विशाल भुसाल र नरेन गुरुङले समान १३ र देव खनालले ११ रन जोडे ।

मधेस प्रदेशका लागि निकेश गुप्ताले तीन,अभिषेक तिवारी र नितेश यादवले समान दुई तथा अविजित मन्डलले एक विकेट लिए ।

पाँच खेलमा आठ अंक जोडेर दोस्रो स्थानमा रहेको लुम्बिनीलाई फाइनलमा स्थान बनाउन आज जित्नै पर्ने दाबाब छ । ६ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदुरपश्चिमले फाइनलमा स्थान बनाइ सकेको छ ।

६ खेलमा आठ अंक जोडेको बागमती प्रदेश तेस्रो स्थानमा छ । मधेसले लुम्बिनीलाई हराएमा बागमती फाइनल प्रवेश गर्नेछ ।