सन्दिप लामिछाने

सन्दिपलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले  नाबालिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप  लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दिपलाई मुद्दाको  किनारा नलाग्दासम्म केन्द्रिय कारागारमा पठाउन आदेश दिएको हो ।

प्रहरीले कात्तिक ४ गते नै अनुसन्धान सकेर सरकारी वकिलको कार्यलयमा प्रतिवेदन बुझाएको थियो । उनीमाथि १० देखी १२ वर्षको जेल सजाय तथा पीडित नाबालिकलाई उचित क्षतीपूर्ती दिनु पर्ने मागसहित कात्तिक १४ मा सरकारी वकिलको कार्यलयले मुद्दा दर्ता गराएको थियो । 

नाबालिक बलात्कारको आरोपपछि केही समय फरार रहेका सन्दिप असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

सन्दीपमाथि भदौ पाँच गते एक नाबालिकलाई सिनामंगलको होटलमा लगेर  बलात्कार गरेको अरोप लागेको थियो । उनीमाथि गौशाला प्रहरी वृतमा उजुरी परेको थियो । पीडित किशोरीकै उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

सन्दिपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै नेपाल क्रिकेट संघले पनि उनलाई राष्ट्रिय टोली र कप्तानबाट निलम्बन गरेको थियो ।