कतार विश्वकप २०२२

कतार विश्वकप– विवादका १२ वर्ष

काठमाडौं । मध्यपूर्वको एउटा सानो देश कतारले यही नोभेम्बर २० (मंसिर ४) बाट सम्भवत इतिहासकै सबैभन्दा विवादित विश्वकप आयोजना गर्दै छ । १२ वर्षअघि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतारलाई विश्वकप आयोजनाको अधिकार दिने निर्णय गरेपछि थुप्रै विवादले पछिल्लो दशक मैदानबाहिरको फुटबल माहौल तात्यो ।

आश्चर्यजनक मतदान

फिफा कार्यसमिति सदस्यहरुको मतदानबाट २०१० को डिसेम्बर २ मा कतारले विश्वकप २०२२ आयोजनाको अधिकार पायो । चौथो चरणसम्म चलेको मतदानमा कतारले अमेरिकालाई पछि पार्दै आयोजना अधिकार हत्याएको थियो । जसलाई तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत ‘गलत निर्णय’ भनेर आलोचना गरेका थिए ।

कतारलाई विश्वकप आयोजनाको अधिकार दिइँदा अहिले विश्वकप गराइने आठमध्ये एउटा रंगशालामात्र तयार थियो । साथमा मध्यपूर्वको धनी तर सानो देशले २०२२ मा विश्वभरबाट आउने १० लाखभन्दा बढी फुटबल समर्थकलाई आतिथ्यता दिन सक्नेमा पनि ठूलो प्रश्न थियो ।

भ्रष्टाचारका आरोप

सन् २०१२ को अगस्टमा फिफाको इथिक्स कमिटीले रुसलाई २०१८ र कतारलाई २०२२ को विश्वकप आयोजना अधिकार दिनका लागि भएको मतदानमाथि अनुसन्धान सुरु गर्यो । त्यो अनुसन्धानको नेतृत्व अमेरिकी कानुनविद माइकल गार्सियाले गरेका थिए ।

कमिटीका न्यायिक प्रमुख हान्स जोचिम इकर्टले विश्वकप आयोजना अधिकार प्राप्तिका लागि रुस र कतारले कुनै गलत काम नगरेको भन्दै दुवैलाई सफाइ दिए । तर गार्सियाले भने इकर्टको निर्णयलाई अपूर्ण भनिरहे ।

सन् २०१९ सम्ममा फ्रान्सले पनि २०१० नोभेम्बर २३ मा तत्कालीन फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजी, यूईएफएका अध्यक्ष मिचेल प्लाटिनी र दुई उच्च कतारी अधिकारीबीचको भेटवार्तामाथि पनि भ्रष्टाचार भएको आशंकामा छानबिन सुरु गरिसकेको थियो । प्लाटिनीले कतारको पक्षमा युरोपका चार मत उपलब्ध गराइदिएका थिए ।

सन् २०१७ को जुनमा अनुसन्धान प्रतिवेदन सार्वजनिक भयो । प्रतिवेदनले केही शंकास्पद आर्थिक कारोबार भएको उल्लेख गर्यो । तर कतारबाट विश्वकप खोस्नुपर्ने ठोस कारण प्रस्तुत गर्न सकेन ।

सन् २०१९ सम्ममा फ्रान्सले पनि २०१० नोभेम्बर २३ मा तत्कालीन फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजी, यूईएफएका अध्यक्ष मिचेल प्लाटिनी र दुई उच्च कतारी अधिकारीबीचको भेटवार्तामाथि पनि भ्रष्टाचार भएको आशंकामा छानबिन सुरु गरिसकेको थियो । प्लाटिनीले कतारको पक्षमा युरोपका चार मत उपलब्ध गराइदिएका थिए ।

पछि फ्रान्सेली सञ्चारमाध्यमहरुले कूटनीतिक तरिकामा उक्त भेटवार्तामा विश्वकप, फाइटर जेट र एन्टी मिसाइल सुरक्षाका विषयमा छलफल भएको भन्दै समाचार प्रशारण गरेका थिए ।

हिउँदे विश्वकप

२०१४ को जनवरीमा फिफाका महासचिव जेरोम भाल्केले विश्वकप २०२२ हिउँदमा हुने घोषणा गरे । जुन–जुलाईमा कतारमा प्रचण्ड गर्मी हुने कारण देखाउँदै उनले इतिहासमै पहिलो पटक नोभेम्बर–डिसेम्बरमा विश्वकप गर्ने घोषणा गरेका थिए ।

उनको तर्क थियो, ‘कतारमा जुन–जुलाईमा तापक्रम बढेर ५० डिग्री सेल्सियससम्म पुग्न सक्छ । त्यस्तो गर्मीमा फुटबल खेल्न सकिन्न ।’

२०१५ मा फिफाको कार्यसमितिले नै विश्वकपका लागि नोभेम्बर २१ देखि डिसेम्बर २० सम्मको मिति तय गर्यो । पछि उद्घाटन खेललाई एक दिन अघि सारेर नोभेम्बर २० मा ल्याइयो ।

सिजनको बीचमा विश्वकप गर्ने निर्णयका कारण युरोपका शीर्ष लिगहरुले गम्भीर आपत्ति जनाए । विश्वकपका कारण एक महिनाभन्दा लामो समयका लागि लिग स्थगित गर्नुपर्ने भएकाले युरोपेली क्लब तथा लिगहरु असन्तुष्ट भएका थिए ।

विश्वकप आयोजना तयारीमा लगाइएका विदेशी कामदारको मानव अधिकार उल्लंघनको विषयमा आलोचना बढिरहेका बेला अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले ‘दी केस एगेन्स्ट कतार’ नामको दमदार प्रतिवेदन सार्वजनिक गर्यो । जसमा विदेशी कामदारको अवस्था कतारमा अत्यन्तै दयनीय रहेको उल्लेख छ । प्रतिवेदनले विदेशी कामदारलाई त्यहाँको खप्नै नसकिने प्रचण्ड गर्मीको बावजुत झोपडपट्टीमा बसोबासको व्यवस्था गराइएको सार्वजनिक गरेको छ ।

विश्वकपलक्षित पूर्वाधार निर्माणको काम दौरान पछिल्लो डेढ दशकमा हजारौं कामदारको ज्यान गएको मानव अधिकार संस्थाहरुले जनाएका छन् । तथापि अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले त्यो तथ्यांकमा असहमति जनाएको छ । तर महासंघ नेतृत्वले पछिल्लो समय कतारले श्रमिक अधिकारको विषयमा उल्लेख्य सुधार गरेको बताउँदै विश्वकप आयोजनाप्रति भने कुनै आपत्ति नरहेको यसै वर्ष प्रस्ट पारेको छ ।

अन्तर्राष्ट्रिय संस्थाहरुको चर्को दबाबका बीच कतारले २०१७ मा विवादास्पद श्रम ऐन ‘काफिला’मा रहेका काम परिवर्तन गर्न नपाउने तथा देश छोड्न पनि नपाउने लगायतका नियममा धेरै परिमार्जन गर्यो । मरुभूमिको गर्मीमा काम गर्ने व्यवस्थामा सुधार तथा न्युनतम पारिश्रमिकको पनि व्यवस्था गरेको थियो ।

विश्वकपलक्षित पूर्वाधार निर्माणको काम दौरान पछिल्लो डेढ दशकमा हजारौं कामदारको ज्यान गएको मानव अधिकार संस्थाहरुले जनाएका छन् । तथापि अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले त्यो तथ्यांकमा असहमति जनाएको छ । तर महासंघ नेतृत्वले पछिल्लो समय कतारले श्रमिक अधिकारको विषयमा उल्लेख्य सुधार गरेको बताउँदै विश्वकप आयोजनाप्रति भने कुनै आपत्ति नरहेको यसै वर्ष प्रस्ट पारेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक संगठनले सरकारी तथ्यांक उदधृत गर्दै २०२० मा भएका औद्योगिक दुर्घटनामा कुल ५० कामदारको ज्यान गएको उल्लेख गरेको छ ।

एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र अन्य अधिकारकर्मी संगठनहरुले विदेशी कामदारको क्षतिपूर्तिका लागि फिफा तथा कतारसँग विश्वकपको पुरस्कार राशिबराबर ४४ करोड डलरको कोष स्थापनाको माग गरेका छन् । थुप्रै राष्ट्रिय संघ र प्रायोजकहरुले पनि यो मागमा समर्थन जनाएका छन् ।

महिला तथा एलजिबिटिक्यु समुदायको अधिकारको विषयमा पनि अन्तर्राष्ट्रिय समुदायले कतारको आलोचना गरिरहेका छन् । समलैंगिकलाई पनि कतारी कानुनले वर्जित गरेको छ । कतारले भने विश्वकपका लागि सबैखाले समर्थकलाई विना कुनै विभेद स्वागत गर्ने बताएको छ ।