आइपिएल

पञ्जावमाथि लखनउको जित

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा लखनउ सुपर जायन्ट्सले पञ्जाव किङ्सलाई २० रनले पराजित गरेको छ ।

महाराष्ट्र क्रिकेट एसोसियसन रंगशालामा भएको खेलमा लखनउले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३३ रनमात्र बनाउन सक्यो ।

पञ्जावका जोनी बेरेस्टोले सर्वाधिक ३२ रन बनाए । यसबाहेक, मयंक अग्रवालले २५, ऋषी धवनले २१ र लियम लिभिङ्स्टोनले १८ रन जोडे ।

लखनउका मोहसिन खानले तीन विकेट लिँदा दुस्मन्था चमिरा र क्रुणल पड्याले समान दुई विकेट लिए । यस्तै, रवि विस्नोइले एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५३ रनको योगफल तयार पारेको थियो ।

पञ्जावका ओपनर क्विन्टन डी ककले सर्वाधिक ४६ रन बनाए । उनले ३७ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

यस्तै, दीपक हुड्डाले ३४, दुस्मन्था चमिराले १७, मोहसिन खानले १३ र ज्यासन होल्डरले ११ रन जोडे ।

जितसँगै नौ खेलबाट १२ अंक जोडेको लखनउ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

यस्तै, समान खेलबाट आठ अंक जोडेको पञ्जाव सातौं स्थानमा छ ।