आइसिसी विश्वकप क्रिकेट लिग-२

नेदरल्यान्ड्सको पहिलो जित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल,नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक शृंखलामा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्यन्ड्सले नामिबियालाई सात विकेटले पराजित गरेको हो ।  

जितसँगै नेदरल्यान्ड्सले दुई खेलमा दुई अंक जोडेको छ । पहिलो पराजित ब्यहोरेको नामिबियाको पनि समान खेलबाट दुई अंक नै छ ।

नामिबियाले प्रस्तुत गरेको १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओरभमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ८१ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी म्याक्स ओ'डोउडले २८ र बास डी लिडेले अविजित २१ रन बनाए ।

पहिलो विकेटका लागि  लेभिट र ओ'डोउडले ७८ रनको साझेदारी गरे । नामिबियाका लागि तीनै विकेट कप्तान जेर्रार्ड इरास्मसले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ३५।१ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनको योगफल तयार पार्यो ।

नामिबियाका लागि जेजे स्मिथले २६, जान ग्रिनले १९, रुबेन ट्रम्पलम्यानले २०, निकोलस डाभिन र जोर्रार्ड इरास्मसले समान १३ तथा वेर्नार्ड स्कोल्ट्जले १२ रन बनाए ।

नेदरल्यान्ड्सका लागि आर्यन दत्तले नौ ओभरमा ३४ रन खर्चिएर ६ विकेट लिए । यसैगरी कायल केलिनले दुई तथा रोलेफ भान डेर मार्वे र म्याक्स ओडोउडले समान एक विकेट हात पारे ।

पहिलो खेलमा नामिबियाले नेपाललाई चार विकेटले हराउँदा नेदरल्यान्ड्स नेपालसँग नौ विकेटले पराजित भएको थियो ।