सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट

यु-१९ क्रिकेटः कोहलपुर मेयर-११ र गण्डकी प्रदेशकाे विजयी सुरुआत

काेहलपुर । बाँकेको कोहलपुरमा शनिबारबाट सुरु भएको सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट प्रतियोगितामा कोहलपुर मेयर-११ र गण्डकी प्रदेशले विजयी सुरुआत गरेका छन्। कोहलपुरले लुम्बिनी प्रदेशलाई तथा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेका हुन् ।

शनिबारको पहिलो खेलमा कोहलपुरले लुम्बिनी प्रदेशलाई ४७ रनले पराजित गर्यो।

कोहलपुर मेयर ११ ले प्रस्तुत गरेको १०१ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १४.५ ओभरमा ५३ रनमै समेटियो ।

लुम्बिनीका लागि  सुष्मिता भुसालले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोहलपुरका लागि  रिया शर्माले सर्वाधिक चार ओभरमा मात्र सात रन खर्चिद तीन विकेट लिए । भवानी कमाती र तृष्णा विश्वकर्माले समान दुई तथा हैमवती रोय, आरति महतो र प्रतिमा शाहले समान एक विकेट लिए।  

त्यसटस जितेर ब्याटिङ गरेको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा तीन  विकेट गुमाउँदै सय रनको योगफल तयार पारेको थियो । कोहलपुरको लागि ओपनर साना प्रविनले सर्वाधिक ४० रन योगदान दिइन् । यसैगरी प्रतिमा शाहले १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाइए ।

लुम्बिनीका लागि सरु तिवारी र एन्जिला पाठकले समान एक विकेट लिए।

दिनको दोश्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३० रनले पराजित गर्यो।

गण्डकीले प्रस्तुत गरेको १४५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १६.५ ओभरमा ११४ रनमा समेटियो । सुदूरपश्चिमका लागि सावित्री धामीले सर्वाधिक २४ रन, गगां खड्काले १८ तथा जानकी थापाले अविजित १५ रन बनाए।

गण्डकी प्रदेशका लागि रचना चौधरीले तीन, आकृति तिवारी र सिमाना केसीले दुई तथा तथा कुसुम गोदार र निरुता जिटीले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो ।

गण्डकीका लागि ज्योत्सनिका मरासिनीले ५८ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ७१ रनको योगदान दिइन्। सिमाना केसीले २१ तथा रचना चौधरीले १६ रन बनाए।  

सुदूरपश्चिमका लागि स्नेहा महराले एक विकेट लिइन् ।

प्रतियोगिताअन्तर्गत आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९ः३० बजे बागमती र लुम्बिनी तथा दोश्रो खेलमा दिउँसो १ः३० बजे गण्डकी र कोहलपुर मेयर-११ प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा कोहलपुर मेयर ११, लुम्विनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागि छन्। सबै टिमले एक अर्कासँग एक खेल खेलेपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन्।