आइसिसी यु-१९ विश्वकप

नेपालको लगातार दोस्रो पराजय

काठमाडौं । नेपालले आइसिसी यु-१९ विश्वकपमा लगातार दोस्रो पराजय ब्यहोरेको छ । नेपाल दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा बुधबार पाकिस्तानसँग पाँच विकेटले पराजित भएको हो ।

लगातार दोस्रो जितसँगै समूह ‘डी’ को पाकिस्तानले दुई खेलमा चार अंक जोडेको छ । तगातार दोस्रो पराजय ब्यहोरेको नेपाल समान खेलबाट अंकविहिन छ ।

नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानका लागि अजान अवाइसले ८२ बलमा ६ चौकाको मद्दतले अविजित ६३ रनको योगदान गरे ।  यसैगरी शमिल हुसेन र शहजैब खानले समान ३७, अहमद हसनले २९ र हरुन  अर्शदले अविजित १५ रन बनाए ।

पहिलो विकेटका लागि हुसेन र खानले ८० तथा पाँचौं विकेटका लागि अवाइस र हसनले ६४ रनको साझेदारी गरे ।

नेपालका लागि आकाश चन्दले तीन तथा दिपेश कँडेल र आकाश त्रिपाठीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रनको योगफल तयार पारेको थियो । 

नेपालका लागि विपिन रावलले ३९, दीपक डुम्रेले २६, कप्तान देव खनालले २३,   सुवास भण्डारीले २०, गुल्सन झाले १८ र अविजित १६ रन बनाए । 

पाकिस्तानका लागि अर्फत मिन्हासले तीन, अहमद हुसेनले र उदिन शाहले समान दुई तथा, खुबैब अलिल, मोहम्मद जिशन र अली अस्फन्दले समान एक विकेट लिए । 

पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो ।

अब नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्नेछ ।