ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला

श्रीलंकालाई ट्वान्टी २० शृंखला

काठमाडौं । घरेलु टोली श्रीलंकाले ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा जिम्बावेविरुद्ध नौ विकेटको सहज जित निकालेको छ ।

यो जितसँगै श्रीलंकाले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पारेको छ । यसअघि श्रीलंका तीन र जिम्बावे चार विकेटले विजयी भएका थिए ।

कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा बिहीबार जिम्बावेले प्रस्तुत गरेको ८३ रनको लक्ष्य श्रीलंकाले १०.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलंकाका लागि पथुम निसन्काले अविजित ३९, कप्तान कुशल मेन्डिसले ३३ र धनन्जय डी सिल्भाले अविजित १५ रन बनाए ।

पहिलो विकेटका लागि निसन्का र मेन्डिसले ६४ रनको साझेदारी गरेका थिए । जिम्बावेका लागि एक मात्र विकेट सेन विलियम्सले लिए ।

त्यअघि टस हारेर ब्यााटिङको निम्तो पाएको जिम्बावेले १४.१ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनको योगफल तयार पारेको थियो । जिम्बावेका लागि बायन बेनेटले २९, सेन विलियम्सले १५ तिनाशे कामुनहुकम्वेले १२ र कप्तान सिकन्दर राजाले १० रन बनाए ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले चार ओभरमा १५ रन खर्चिएर चार विकेट लिए । यसैगरी एन्जेलो म्याथ्युज र महेश तिक्क्षणाले समान दुई तथा दिलसान मदुसन्का र धनन्जय डी सिल्भाले समान एक विकेट लिए ।