प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौं । शेर मल्लको उत्कृष्ट बलिङ र किरण ठगुन्नाको उत्कृष्ट ब्याटिङप्रेरित सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । 

सुदूरपश्चिमले बिहीबार गण्डकी प्रदेशमाथि १ सय ८ रनको फराकिलो जित निकालेको हो । जितसँगै सुदूरपश्चिम  तीन खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएकाे छ । तीनै खेलमा पराजित गण्डकी अंकविहिन छ । 

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै समेटियो । गण्डकीका लागि इश्वर क्षेत्रीले २५ र कमल परियारले २२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

सुदूरपश्चिमका लागि शेरले ८.२ ओभरमा १ मेडनसहित २३ रन खिर्चदै पाँच विकेट लिए । यसैगरी गजेन्द्र बोहराले दुई तथा भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएका सुदूरपश्चिमले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय १ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ७३ बलमा पाँच चौकाको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी नारायण जोशीले ४६, शेर मल्लले १९, कप्तान राजु रिजालले १६, टेक रावतले १५ र नरेन साउदले १३ रन बनाए ।

गण्डकीका लागि कप्तान विपिन खत्रीले १० ओभरमा चार मेडनसहित मात्र नौ रन खर्चिएर तीन विकेट लिए । यसैगरी अंकित न्यौपानेले तीन, कमल परियार र अमृत गुरुङले समान दुई विकेट लिए ।