प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कपः सुदूरपश्चिममाथि सहज जित निकाल्दै कोशी फाइनलमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकाल्दै कोशी प्रदेश प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले प्रस्तुत गरेको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा माात्र १ विकेट गुमाउँदै पूरा गर्यो । कोशीका लागि काजल श्रेष्ठले अविजित ३८, कप्तान रुबिना क्षेत्रीले ३७ र अप्सरी बेगमले अविजित १२ रन बनाए ।

पहिलो विकेटका लागि रुबिना र काजलले ५९ रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि १ मात्र विकेट लक्ष्मी साउदले लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेको थियो । 
सुदूरपश्चिमका लागि सम्झाना खड्काले २५, विन्दु रावलले १७ र कविता जोशीले १५ ले १५ रन बनाए ।

कोशीका लागि संगिता राईले दुई तथा एलिशा खडिया, निशा शाह र सबनम राईले समान एक विकेट लिए ।

कोशीले उपाधिका लागि विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ । पहिलो क्वालिफायरमा कोशी एपिएफसँग ५२ रनले स्तब्ध बनेको थियो । एलिमिनेटमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ९ विकेटले हराएको थियो ।