ट्वान्टी २० विश्वकप

न्युजिल्यान्डसामु भारत निरिह

दुबई । लगातार दोस्रो हारसँगै भारतको आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटको अघिल्लो चरण प्रवेश सम्भावना कठिन बनेको छ ।

आइतबार सम्पन्न दोस्रो खेलमा भारत न्युजिल्यान्डसँग आठ विकेटले पराजित भयो ।

भारतले प्रस्तुत गरेको एक सय ११ रनको झिनो लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा मात्र दुई विकेट क्षतीमा पूरा गरेको थियो ।

२४ रन जोड्दा ओपनर मार्टिन गुप्टिललाई गुमाएको न्युजिल्यान्डको इनिङ दोस्रो विकेटका लागि ओपनर डेरेल मिट्चेल र कप्तान केन विलियम्सले ७२ रनको साझेदारी गर्दै उकासेका थिए ।

डेरेलले ३५ बलमा चार चौका र तीन छक्का मद्दतमा ४९ रन जोड्दा विलियम्सले ३१ बलमा तीन चौका मद्दतमा अविजित ३३ रन बनाए । त्यस्तै गुप्टिलले २० रन जोडे ।

भारतका जसप्रित बुमराले दुई विकेट लिए ।

पहिलो खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । 

भारतमाथिको सानदार जितपछि न्युजिल्यान्डले भने अघिल्लो चरण प्रवेश सम्भावना जीवित राखेकोे छ ।

न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा सात विकेट क्षतीमा एक सय १० रन मात्र जोडेको थियो ।

भारतका रविन्द्र जडेजाले अविजित २६, हार्दिक पाण्डेयाले २३,लाकेश राहुलले १८ र रोहित शर्माले १४ रन जोडे ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले तीन, इस सोडीले दुई तथा टिम साउथी र एडम मिल्नेले समान एक विकेट लिए ।