प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कपः एपिएफको विजयी यात्रा कायमै, कोशीको पहिलो हार

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ ।

एपिएफले मुलपानी क्रिकेट मैदानमा सोमबार कोशी प्रदेशलाई आठ विकेटले पराजित गरेको हो । लगातार चौथो जितसँगै चार खेलमा आठ अंक जोडेको एपिएफ शीर्ष स्थानमा कायम छ । पहिलो पराजय ब्यहोरेको कोशीको समान खेलबाट ६ अंक छ ।

कोशीले प्रस्तुत गरेको ८५ रनको लक्ष्य एपिएफले १७.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका लागि इन्दु बर्माले अविजित ३६, ज्योति पाण्डेले २४, कप्तान सीता राना मगरले १८ र रोमा थापाले अविजित १० रन बनाए ।

कोशीका लागि एलिशा खडिया र निशा शाहले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै ८४ रनको योगफल तयार पारेको थियो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले ४१, काजल श्रेष्ठले अविजित २५ र अप्सरी बेगमले १३ रन बनाए ।

पहिलो विकेटका लागि रुबिना र काजलले ६३ रनको साझेदारी गरेका थिए ।  एपिएफका लागि सोनु खड्का र करुणा भण्डारीले समान एक विकेट लिए ।