आइसिसी एकदिवसीय विश्वकप

इङ्ल्यान्डले दियो नेदरल्यान्ड्सलाई ३ सय ४० रनको लक्ष्य

काठमाडौं । बेन स्टोक्सको शतकप्रेरित इङ्ल्यान्डले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्ससामू ३ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पुनेस्थित महाराष्ट्र क्रिकेट संघको मैदानमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३ सय ३९ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि स्टोक्सले ८४ बलमा समान ६ चौका र छक्काको मद्दतले सर्वाधिक १ सय ८ रनको योगदान गरे । यसैगरी डेविड मलानले ७४ बलमा १० चौका र दुई छक्काको मद्दतले ८७, क्रिस वोक्सले ४५ बलमा पाँच चौका र एक छक्काको मद्दतले ५१, जो रुटले २८ र जोनी बेयरिस्टोले १५ रन बनाए ।

छैटौं विकेटका लागि स्टोक्स र वोक्सले १ सय २९ तथा दोस्रो विकेटका लागि मलान र रुटले ८५ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि बास डि लिडेले तीन आर्यन दत्त र लोगन भान बिकले समान दुई तथा पल भान मिक्रेनले एक विकेट लिए ।  

निकै खराब लयमा रहेको इङ्ल्यान्ड नेदरल्यान्ड्सलाई हराउँदै च्याम्पियन्स ट्रफीको सम्भावनालाई जिवितै राख्न चाहन्छ । सात खेल खेल्दा ६ हार एक जितको नतिजा निकालेको इङ्ल्यान्ड दुई अंकका साथ पुछारमा छ ।

यता नेदरल्यान्ड्स पनि इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै सेमिफाइनलको झिनो आशालाई जिवितै राख्ने लक्ष्यमा छ। सात खेल खेल्दा दुई जित र पाँच हारको नतिजा निकालेको नेदरल्यान्ड्स चार अंकका साथ नवौं स्थानमा छ ।