काठमाडौं । मणिमुकुन्द भलिबल क्लब र नेपाल एपिएफ क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगमा मंगलबार जित दर्ता गरेका छन् ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा सम्पन्न पुरुषतर्फको दोस्रो खेलमा मणिमुकुन्दले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
मणिमुकुन्दले खेल २५-२१, २५-२२, २५-१० ले आफ्नो पक्षमा पार्यो ।
दोस्रो जितसँगै मणिमुकुन्दले ६ खेलमा सात अंक जोडेको छ । ६ वटै खेलमा पराजित सुदूरपश्चिम अंकविहिन छ ।
त्यसअघि पुरुषतर्फको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेश खेलकुद विकाश बोर्डविरुद्ध ३-२ को पुनरागमन जित दर्ता गर्यो ।
सुरुआती दुई सेट २९-३१, २०-२५ ले गुमाएको एपिएफले त्यसपछिका तीन सेट २५-१९, २५-१९, १५-१३ ले आफ्नो पक्षमा पार्यो ।
दोस्रो जितसँगै एपिएफले ६ खेलमा पाँच अंक जोडेको छ । पाँचौं हार बेहोरेको कोशीको समान खेलबाट चार अंक छ ।
मंगलबारै सम्पन्न महिलातर्फको खेलमा न्यु डायमन्ड स्पोर्टस क्लबले एपिएफ तथा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई समान ३-० को सोझो सेटमा पराजित गरे ।