काठमाडौं । कल्पना गरौं न ! एएफसी एसियन कप छनोटमा लाओस र श्रीलंकाविरुद्ध समूहका दुई खेल सकिसकेको अवस्थामा नेपाल घरेलु टोली उज्वेकिस्तानभन्दा गोल अन्तरमा अगाडि छ ।
अनि, छनोट चरण पार गरेर पहिलो पटक एसियन कपको टिकट काट्दै इतिहास रच्न जुलाई ५ मा हुने अन्तिम खेलमा नेपाललाई उज्वेकिस्तानविरुद्ध एक अंक मात्र आवश्यक पर्नेछ । उज्वेकिस्तानलाई कम्तीमा बराबरीमा रोक्नुबाहेक नेपालसँग विकल्प छैन ।
त्यो अवस्थामा यो कल्पना साकार पार्न नेपाली टोलीलाई एकजना खेलाडीको प्रभाव आवश्यक पर्नेछ । खुलेरै भन्दा पक्कै पनि तुलनात्मक रूपमा बलियो उज्वेकिस्तानलाई बराबरीमा रोक्न रक्षापंक्तिको भूमिका सबैभन्दा बढी हुनेछ । अनि त्यो ‘डिफेन्सिभ वाल’को बलियो आधार हुन्, गीता राना । हो ! गीता राना । उनै गीता, जसको उपस्थितिले नेपाली महिला राष्ट्रिय टोलीको रक्षात्मक पर्खाललाई बलियो बनाएको छ ।

एक दशक हुन लाग्यो राष्ट्रिय टोलीले गीताको उपस्थितिमा भर पर्न थालेको । सन् २०१६ मा मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा अन्तर्राष्ट्रिय ‘डेब्यू’ गरेकी गीताले यो ९ वर्षमा ५५ पटक राष्ट्रिय टोलीको जर्सी लगाएकी छन् । उज्वेकिस्तानविरुद्ध सम्भवतः गीताले ५८औं अन्तर्राष्ट्रिय खेल खेल्नेछिन् । खेलको तीव्रता र दबाबबीच पनि शान्त रूपमा प्रस्तुत हुने गरेकी गीताका लागि उज्वेकिस्तानसँगको प्रतिस्पर्धा करिअरकै सबैभन्दा महत्त्वपूर्ण खेल हुनेछ ।
एसिया कपको अर्को संस्करणसम्ममा नेपाली टोलीमा एउटा युग नै परिवर्तन हुने सम्भावना पनि छ । यो कुरा गीतालाई भन्दा बढी कसलाई थाहा होला र !
वास्तवमै नेपाली टोली यसपालि दुर्लभ अवसर नजिक छ । समूहका दुई टोली तुलनात्मक रूपमा कागजमै भए पनि नेपालभन्दा कमजोर भएकाले पनि यस्तो आशा गर्न सकिएको हो । तर, फुटबल हो जे पनि हुनसक्छ ।
भनिन्छ नि मौका फेरि फेरि आउँदैन । सायद आउने दिनमा नेपाली टोलीसामु यत्तिको सजिलो अवसर बिरलै आउने छ । फेरि अबका दिनमा नेपाली टोली पनि यति गजबको नबन्न सक्छ । पछिल्लो केही वर्ष नेपाली महिला फुटबल ‘गोल्डेन जेनेरेसन’को प्रदर्शनमा रमिरहेको छ ।

एसिया कपको अर्को संस्करणसम्ममा नेपाली टोलीमा एउटा युग नै परिवर्तन हुने सम्भावना पनि छ । यो कुरा गीतालाई भन्दा बढी कसलाई थाहा होला र ! त्यसैले गीता यो मौका खेर फाल्न चाहँदिनन् । भन्छिन्, ‘हामी उज्वेकिस्तानमा सक्दो प्रदर्शन दिनेछौं । तयारी पनि राम्रो भएको छ । हामीलाई थाहा छ नेपाली फुटबलका लागि यो छनोट प्रतियोगिताको कति महत्व छ भन्ने कुरा ।’
उज्वेकिस्तानमा राम्रो गर्न सके नेपालले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको २१औं संस्करणमा स्थान बनाउने छ । यो भनेको २०२७ मा ब्राजिलमा हुने फिफा विश्वकपको १०औं संस्करणको नजिक पुग्नु हो ।
सुर्खेतमा जन्मिएकी गीता २०७० सालमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध भएकी थिइन् । त्यसको तीन वर्षमै गीताले मलेसियाविरुद्ध ‘डेब्यू’ गरिन् ।
यस्तोमा गीता जस्ता प्रमुख खेलाडीलाई ‘एक्स्ट्रा प्रेसर’ महसुस हुन्छ कि हुँदैन ?
गीता दबाबभन्दा पनि जिम्मेवारी महसुस गर्छिन् । भन्छिन्, ‘मेरो अगाडि अहिलेसम्मकै ठूलो चुनौती आएको छ । जुन चुनौतीका लागि म तयार छु । हामीले कहिल्यै पनि नेपाली समर्थकलाई उपाधिको खुसी दिन सकेका छैनौं । यसपालि जसरी पनि छनोट हुने प्रयासमा छौं ।’

सुर्खेतमा जन्मिएकी गीता २०७० सालमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध भएकी थिइन् । त्यसको तीन वर्षमै गीताले मलेसियाविरुद्ध ‘डेब्यू’ गरिन् । फुटबलको सुरुआती वर्षमा गोलकिपर पोजिसनमा खेलेकी गीताले एपिएफमा आउँदा केही समय स्ट्राइकरको भूमिका निभाइन् । अहिले उनी सेन्टर डिफेन्समा दक्षिण एसियाकै एक उदाहरण बन्न सफल भएकी छन् ।
गीतामा आधुनिक डिफेन्डरमा हुनुपर्ने प्रमुख गुण छन् । गीता विपक्षीको ‘गेम रिड’ गर्न सक्ने खेलाडी हुन् । अनिश्चित परिस्थितिमा सचेत रहँदा गीता दबाबबीच पनि बुद्धिमानी निर्णयका लागि चिनिन्छिन् । सही समयमा सही ठाउँमा रहेर विपक्षी आक्रमणबाट हुने खतरा रोक्नु गीताको विशेषता हो । ‘क्विक थिङकिङ’ र ‘स्मार्ट मुभ’ले रक्षात्मक अवस्थाबाट आक्रमणको अवसर सिर्जना गरिदिन्छिन् । गीताको गति उनको सबैभन्दा महत्त्वपूर्ण विशेषतामध्ये एक हो । छुटाउनै नहुने अर्को पक्ष, गीताको दायाँ र बाँया दुवै खुट्टा एकनासले चल्छ ।
अघिल्लो संस्करण नेपालले अन्तिम केही मिनेट सम्हालिन नसक्दा फिलिपिन्सविरुद्ध हार बेहोरेको थियो । जसका कारण एसियन कप पुग्न नेपालले थप चार वर्ष कुर्नुपरेको हो ।
नेपाली फुटबलमा गीतालाई लिएर के पनि भन्ने गरिन्छ भने, ‘जतिबेलासम्म गीता लास्ट डिफेन्समा हुन्छिन्, त्यतिबेलासम्म हामी ढुक्क हुन्छौं ।’
एएफसी एसियन कप छनोटमा नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा एक सय खेलको कोसेढुंगा पार गर्दै छ । सन् १९८६ मा हङकङमा सम्पन्न एएफसी महिला च्याम्पियनसिपको छैटौं संस्करणदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन थालेको नेपालले त्यसपछि १९८९ र १९९९ को संस्करण खेल्यो । जतिबेला टोली सोझै एएफसी च्याम्पियनसिपमा छनोट हुने गर्थे ।

सन् २००६ मा अस्ट्रेलियामा भएको १५औं संस्करणदेखि छनोट चरण पार गर्ने टोलीले मात्र एसियन कपमा स्थान बनाउने नियम लागू भयो । अघिल्लो संस्करण नेपालले अन्तिम केही मिनेट सम्हालिन नसक्दा फिलिपिन्सविरुद्ध हार बेहोरेको थियो । जसका कारण एसियन कप पुग्न नेपालले थप चार वर्ष कुर्नुपरेको हो ।
यो ४० वर्षे इतिहासमा नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा एक दर्जन फाइनल खेलेको छ । यी सबै अवसरमा नेपाल उपाधिबाट वञ्चित हुनुपरेको छ । नेपालसामु यस्तो मौका छ, जसले नेपाली महिला फुटबलको नक्सा फेरिदिन सक्छ । यो सफलताको मार्गचित्र कोर्न नेपाली समर्थकले गीताकोे उच्चतम क्षमताअनुसारको प्रदर्शन अपेक्षा गर्नेछन् ।
नियमित लेफ्ट ब्याक हिराकुमारी भुजेल घुँडाको एसिएल चोटका कारण ८ महिनायता टोलीबाट बाहिर छन् । जसका कारण गीतामाथि नेतृत्वदायी प्रदर्शनको जिम्मेवारी थपिएको छ ।
गीता पनि यो चुनौतीलाई तयार छिन् । तर, यो कुरा गीता एक्लैले मात्र चाहेर हुने होइन । उनलाई चाहिएको छ, सेन्टर ब्याकमा भरपर्दो ‘पार्टनर’ । पछिल्लो समय नेपाली फुटबलकी सबैभन्दा अनुभवी खेलाडीमध्ये एक अमृता जैसीले स्वभाविक लय गुमाएसँगै टोलीमा ‘स्कावड रोटेसन’ भइरहेको छ । अमृताको स्थानमा पछिल्लो समय गीता र उनकी एपिएफ सहकर्मी निशा थोकरले सेन्टर ब्याकमा ‘पियरिङ’ गरिरहेका छन् । तर, यो जोडी त्यति जम्न सकेको छैन । त्यस्तै नियमित लेफ्ट ब्याक हिराकुमारी भुजेल घुँडाको एसिएल चोटका कारण ८ महिनायता टोलीबाट बाहिर छन् । जसका कारण गीतामाथि नेतृत्वदायी प्रदर्शनको जिम्मेवारी थपिएको छ ।

उज्वेकिस्तानविरुद्ध त्यो परिकल्पनालाई आत्मसात गर्ने हो भने नेपाली टोलीले सर्वप्रथम लाओस र श्रीलंकालाई फराकिलो अन्तरले हराउनुपर्नेछ । अनि उज्वेकिस्तानले दुवैलाई नेपालको तुलनामा कम गोलअन्तरमा जितेको देख्न पाउनुपर्नेछ । त्यसका लागि नेपाली महिला फुटबलकी गोलमेसिन सावित्रा भण्डारीबाट बढीभन्दा बढी गोल निस्कन आवश्यक छ ।
नेपाली फुटबलप्रेमीले कल्पेको त्यो रोमाञ्चक क्षण यथार्थमा परिणत होला-नहोला ? अनिश्चितताको खेल फुटबलमा समयले जस्तोसुकै उत्तर पनि दिन सक्छ । सुखद जवाफको अपेक्षामा नेपालले आफ्नो पहिलो खेलमा जुन २९ मा लाओस तथा दोस्रो खेल जुलाई २ मा श्रीलंकासँग खेल्नेछ ।