असार ३, २०८२ मंगलबार | १४:५०:४७
एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने पहिलो जितको लक्ष्यमा नेपाल बेन्फिकाले बोका जुनियरलाई बराबरीमा रोक्यो चेल्सीको विजयी सुरुआत तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले बाजी मार्याे, १००औं ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहासः नेपाल र नेदरल्यान्ड्सबीचको खेल तेस्रो सुपर ओभरमा पुग्यो नेदरल्यान्ड्स र नेपालबीच फेरि अर्को सुपर ओभर नेदरल्यान्ड्स र नेपालबीचको खेल सुपर ओभरमा एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने पहिलो जितको लक्ष्यमा नेपाल बेन्फिकाले बोका जुनियरलाई बराबरीमा रोक्यो चेल्सीको विजयी सुरुआत तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले बाजी मार्याे, १००औं ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहासः नेपाल र नेदरल्यान्ड्सबीचको खेल तेस्रो सुपर ओभरमा पुग्यो नेदरल्यान्ड्स र नेपालबीच फेरि अर्को सुपर ओभर नेदरल्यान्ड्स र नेपालबीचको खेल सुपर ओभरमा
शनिबारको दिन

बद्लावको किनारमा दक्षिण एसियाली फुटबल

सिड्नी । एसियन कप छनोटमा आफ्नो टिम हङकङसँग हारेपछि यतिबेला भारतीय समर्थक आक्रोशित छन् । सामाजिक सञ्जालमा उनीहरु दिनहुँ भारतीय खेलाडीदेखि फुटबल संघ नेतृत्वको आलोचना गर्नमा व्यस्त छन् ।

आक्रोश किन पनि बढी देखिएको हो भने, हङकङसँगको हारले भारतको एसियन कप खेल्ने लक्ष्यमा धक्का पुगेको छ । आगामी एसियन कप सन् २०२७ मा साउदी अरबले आयोजना गर्दैछ । यसका लागि तेस्रो चरणको छनोट जारी छ । यो चरणमा आफ्नो समूहको शीर्ष स्थानमा रहे मात्र एसियन कपको सहभागिता पक्का हुन्छ । भारत अहिले समूह ‘सी’ को पुछारमा छ ।

दोस्रो चरणमा अफगानिस्तानसँगको हारका कारण एसियन कपमा स्वतः छनोट हुने भारतको सम्भावनामा पूर्णविराम लागेको थियो । त्यही हारका कारण हाई प्रोफाइल प्रशिक्षक इगोर स्टिमेचले भारतीय टिमको प्रशिक्षकको पदबाट हात धुनु परेको थियो ।

एसिया कप छनोटमा प्रतिस्पर्धा गर्दै भारत (नीलो जर्सी) र हङकङ । 

त्यस खेलमा भारतलाई हार चखाएका आस्ले वेस्टवुड संयोगवश यसपालि पनि विजयी टिमको बेन्चमा थिए । भारतीय क्लब फुटबलमा सफलता चाखेका प्रशिक्षकको टिमसँग हारेकाले पनि समर्थकको बेचैनी बढेको हो ।

अचेल एसियाका धेरै टिमले यही सूत्रको प्रयोग गरिरहेका छन्, आफ्नो देशमा नजन्मिएका खेलाडीलाई पनि राष्ट्रिय टिममा राख्ने ।

इन्डियन सुपर लिग (आइएसएल)का कारण केही वर्षयता भारतीय फुटबलमा माहोल तातेको पक्का हो । तर राष्ट्रिय टिमको प्रदर्शन भने झन् झन् खस्किरहेको छ । आइएसएलको झिलिमिलीले राष्ट्रिय टिममा किन उज्ज्यालो छर्न सकिरहेको छैन ? आखिरमा राष्ट्रिय टिममा के कमी भइरहेको छ ? यसबारे चर्को बहस जारी छ ।

पछिल्ला दुई एसियन कपमा लगातार छनोट भएको भारतले अब महादेशीय प्रतियोगितामा केवल सहभागिता मात्र होइन, ठूला टिमलाई कडा टक्कर दिनुपर्ने राय राखिरहेका समर्थक यतिबेला छाँगाबाट खसेजस्तो भएका छन् । घाइते बनेका उनीहरुले निको हुन बुटी पत्ता लगाएका छन् । त्यो हो, प्रवासी भारतीय वा भारतीय मूलका विदेशी खेलाडीलाई टिममा बोलाउने ।

हङकङसँग पराजित भएपछि निरास भारतीय खेलाडी । 

अचेल एसियाका धेरै टिमले यही सूत्रको प्रयोग गरिरहेका छन्, आफ्नो देशमा नजन्मिएका खेलाडीलाई पनि राष्ट्रिय टिममा राख्ने । भारतलाई हराएको र नेपालसँग केही दिनअघि बराबरी खेलेको हङकङ टिमका आधा दर्जन खेलाडी त्यहाँको भूमिमा जन्मिएका होइनन् ।

कुनै पनि देशले विदेशमा जन्मिएका खेलाडीलाई दुई तरिका अपनाएर राष्ट्रिय टिममा राख्न सक्छ । ती खेलाडीको बुवा, आमा, हजुरबुवा र हजुरआमामध्ये कोही एक मात्र भए पनि त्यस देशमा जन्मिएको वा ती खेलाडीले त्यस देशमा लगातार पाँच वर्ष फुटबल खेलेर बिताएको भए त्यस्ता खेलाडीलाई राष्ट्रिय टिमबाट खेलाउन पाइन्छ ।

बंगलादेशले पछिल्लो समय विदेशमा रहेका बंगलादेशी मूलका खेलाडी पहिचान गर्ने अभियानलाई बलियो बनाउँदै लगेको छ ।

बंगलादेशले इङ्लिस प्रिमियर लिग खेलेको अनुभव भएका हाम्जा चौधरीलाई राष्ट्रिय टिममा समावेश गर्न सफल हुनु पनि यतिबेला भारतीय समर्थकको बेचैनी बढ्नुको एक कारण हो । लेस्टर सिटीबाट प्रिमियर लिग खेलेका मिडफिल्डर चौधरीले बंगलादेशी टिमबाट ३ खेल खेलिसकेका छन् । आमा बंगालदेशी भएकाले हाम्जाले बंगलादेशको जर्सी लगाउन पाएका हुन् । 

गोलकाे खुसीयाली मनाउँदै हम्जा चौधरी (८ नम्बरको जर्सी) । 

बंगलादेशले पछिल्लो समय विदेशमा रहेका बंगलादेशी मूलका खेलाडी पहिचान गर्ने अभियानलाई बलियो बनाउँदै लगेको छ । यसकै नतिजा हुन्, शमित सोम । क्यानाडामा व्यवसायिक लिग खेल्ने सोमले क्यानाडाको उमेर समूहका टिमबाट समेत खेलिसकेका छन् । उनी क्यानडामै जन्मिएको भए पनि उनका बुवाआमा बंगलादेशबाट बसाइसराई गरि उत्तर अमेरिका पुगेका हुन् । अफ्रिकी खेलाडीलाई पासपोर्ट दिएर राष्ट्रिय टिम बलियो बनाउने प्रयास समेत गरेको बंगलादेश यतिबेला हाम्जा र सोम जस्ता खेलाडीसँग लगातार कुराकानीमा छ ।

उता श्रीलंकाली टिममा हाल देशभित्रभन्दा बाहिर जन्मिएका खेलाडी धेरै छन् । एसियन कप छनोटमा थाइल्यान्डसँग खेल्न टिममा डाकिएका २३ खेलाडीमध्ये १५ खेलाडी श्रीलंकामा जन्मिएका होइनन् । र, ती खेलाडी अस्ट्रेलिया  र युरोपका विभिन्न लिग खेल्छन् ।

बंगलादेश र श्रीलंकाले जे गरिरहेका छन्, त्यसो गर्न भारतका लागि सम्भव छैन । किनभने भारतको कानुनले दोहोरो पासपोर्ट वर्जित गरेको छ । जबकि बंगलादेश र श्रीलंकाले भने प्रक्रिया पुर्याएर विदेशी नागरिकलाई पासपोर्ट दिने गरेका छन् ।

  एसियन कप छनोट अन्तर्गत आगामी खेलमा नेपालको सामना गर्न लागेको मलेसियाले यही साता भियतनामलाई ४-० ले पन्छायो । 

एसिया कप छनोटमा प्रतिस्पर्धा गर्दै श्रीलंका (सेतो जर्सी) र चाइनिज ताइपेइ ।

बंगलादेश र श्रीलंकाले जे अभ्यास गर्न खोजिरहेका छन्, ठ्याक्कै त्यही अभ्यास इन्डोनेसिया, मलेसिया, भियतनाम जस्ता देशमा पनि भइरहेको छ । यद्यपि अभ्यासको उद्देश्य र खेलाडीको स्तर भने फरक छ । कुनै समय नेदरल्यान्ड्सबाट शासित इन्डोनेसियामा डच लिग खेल्ने खेलाडीको हालीमुहाली छ । एसियन कप छनोटमा गत मंगलबार जापानसँग ६-० ले पराजित हुँदा इन्डोनेसियाले खेलाएका पाँच रक्षकमध्ये चार डच भूमिमा जन्मिएका हुन् । गोलकिप एमिल औडेरो इन्डोनेसियामा जन्मिएको भए पनि उनी सानैमा आफ्ना इन्डोनेसियाली पिता र इटालियन मातासँग इटाली बसाई सरेका थिए ।

युभेन्ट्सको एकेडेमीमा हुर्किएका औडेरोसँग इटालीको हरेक उमेर समूहको राष्ट्रिय टिमबाट खेलेको अनुभव छ । भर्खरै सकिएको सिजनमध्ये आधा कोमोबाट सिरी ‘ए’ र पार्लेमोबाट सिरी ‘बी’ खेलेका उनी दुई वर्षअघि इन्टर मिलानमा थिए । त्यसअघि उनले सन् २०१९ देखि २०२३ सम्म साम्पडोरियाको पहिलो रोजाईको गोलकिपर भएर सिरी ‘ए’ खेलेका थिए । इन्डोनेसियाका कप्तान तथा मिडफिल्डर जय इड्जेस सहित अन्य ६ मिडफिल्डर पनि नेदरल्यान्ड्समै जन्मिएका हुन् ।

एसियन कप छनोट अन्तर्गत आगामी खेलमा नेपालको सामना गर्न लागेको मलेसियाले यही साता भियतनामलाई ४-० ले पन्छायो । सन् २०१४ यता पहिलो पटक भियतनामाथि विजय पाएको मलेसियाका लागि गोल गर्ने खेलाडी थिए, जाओ फिगेरेडो, रोड्रिगो होल्गाडो, ला भेरे कोर्बिन ओङ र डाइओन कुल्स । यी खेलाडी नव मलेसियाली हुन् ।

एसिया कप छनोटमा भियतनामविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै मलेसियन खेलाडी । 

ब्राजिलमा जन्मिएका फिगेरेडोलाई पाँच वर्ष मलेसियामा बिताइसकेकाले त्यहाँको पासपोर्ट दिइएको हो । अर्जेन्टिनाका होल्गाडोकी हजुरआमा मलेसियामा जन्मिएकी हुन् । नेपालसँगको मैत्रीपूर्ण खेलबाट मलेसियाली राष्ट्रिय टिममा डेब्यु गरेका ओङकी आमा मलेसियाली नागरिक हुन् । उता बेल्जियन पिता र मलेसियाली माताका सन्तान ओङ मलेसियामै जन्मिएका भए पनि सानैमा परिवारसँग बेल्जियम बसाई सरेका थिए । भियतनामविरुद्ध खेलेका यी चारसँगै अरु पाँच खेलाडीले गत वर्ष मात्र मलेसियाली पासपोर्ट लिएका हुन् ।

 अल्फ्रेडो डी स्टेफानोदेखि प्याट्रिक भिएरासम्म, मिरोस्लाभ क्लोजदेखि एडुवार्डा डा सिल्भासम्म, विश्व फुटबलले एउटा देशमा जन्मिएर अर्कै देशका लागि फुटबल खेलेका यस्ता धेरै खेलाडी देखिसकेको छ ।

उसो त मलेसियासँग हारेको भियतनामले समेत भियतनामी लिग खेलिरहेका ब्राजिली खेलाडीलाई टिममा राखेको छ ।

विश्व फुटबलमा यो नयाँ चलन होइन, एउटा देशमा जन्मिएका खेलाडी अर्को देशबाट खेल्दै आइरहेका छन् । अल्फ्रेडो डी स्टेफानोदेखि प्याट्रिक भिएरासम्म, मिरोस्लाभ क्लोजदेखि एडुवार्डा डा सिल्भासम्म, विश्व फुटबलले एउटा देशमा जन्मिएर अर्कै देशका लागि फुटबल खेलेका यस्ता धेरै खेलाडी देखिसकेको छ ।

इन्डोनेसियन टोली । 

एसियाली फुटबलमा भने यो चलन अहिले ह्वात्तै बढेको छ । यसको मुख्य कारण यही हो, तुरुन्त सफलता पाउने लालसा । विश्वकपमा सहभागी हुने टिमको संख्या बढेकाले पनि इन्डोनेसिया जस्ता टिम हौसिएका हुन् ।

यता दक्षिण एसियामा भने सबैभन्दा ठूलो पुरस्कार साफ च्याम्पियनसिप हो । आफ्नो टिम साफ च्याम्पियनसिपभन्दा माठि उठ्नु पर्छ भनिरहने भारतीय समर्थक अहिले आएर बंगलादेश वा श्रीलंकाले विदेशमा जन्मिएका खेलाडीको बलमा भारतलाई साफ च्याम्पियनसिपमा पछि पार्लान् की भनेर तर्सिएका छन् ।

यसरी देशबाहिर जन्मिएका खेलाडीलाई राष्ट्रिय टिममा समेटेर भिड्दा महत्त्वपूर्ण सफलता हात पारेको एसियाली टिम कतार मात्र हो । 

सन् २०१९ मा एसियन च्याम्पियन बन्दा कतार फिफा वरीयतामा ९२ औँ स्थानमा थियो । आबुधाबीमा जापानलाई ३-१ ले हराएर च्याम्पियन बन्दा कतारका लागि गोलकर्ता थिए अल्मोइज अली । प्रतियोगितामा कुल ९ गोल गरेका उनी सर्वोत्कृष्ट खेलाडी चुनिए । २० वर्षको उमेरमा एसियाली फुटबलमा तहल्का मच्चाएका अलीविरुद्ध युनाइटेड अरब इमिरेट्सले उजुरी गरेको थियो । युएईको आरोप थियो, सुडानमा जन्मिएका अली १८ वर्ष कटेपछि लगातार पाँच वर्ष कतारमा बसेका छैनन् । तसर्थ उनलाई कतारी टिममा राख्न मिल्दैन । त्यसबेला कतारी टिममा ६ खेलाडी यस्ता थिए, जो कतारमा जन्मिएका थिएनन् ।

अल्मोइज अली । 

यसरी देशबाहिर जन्मिएका खेलाडीलाई राष्ट्रिय टिममा समेटेर भिड्दा महत्त्वपूर्ण सफलता हात पारेको एसियाली टिम कतार मात्र हो । चीनले दक्षिणी अमेरिकी र युरोपेली खेलाडीलाई पासपोर्ट दिएर टिममा समावेश गर्दा पनि सोचे अनुसारको सफलता हात पारेको छैन । जसको सन्देश यही हो, विश्व फुटबलमा सफलताको सूत्र पहिल्याउन सजिलो छैन । यद्यपि इन्डोनेसिया वा बंगलादेश जस्ता देशले यसैलाई सफलतासम्म पुर्याउने बाटो ठानेका छन् ।

दक्षिण एसियामा बंगलादेश र श्रीलंकाले जे गर्न खोजिरहेका छन् वा गरिरहेका छन्, यसले भारत मात्र होइन नेपाल पनि तर्सिनु पर्ने स्थिति छ । विदेशी पासपोर्टधारी खेलाडीको बलमा बंगलादेश वा श्रीलंकाले दक्षिण एसियाली फुटबलमा भारतको दबदबा अन्त्य गर्ने मात्र होइन, नेपालको दशकौंदेखिको साफ च्याम्पियनसिप जित्ने लक्ष्यमा स्थायी धक्का पुर्याउन सक्छन् ।

उसो त अरुले के गर्छन्, त्यसलाई नेपाल, भारत वा अरु कुनै देशले रोक्नसक्ने भन्ने हुँदैन । भलै त्यसले दक्षिण एसियाली फुटबलको नक्सा परिवर्तन गर्नसक्छ । सन् २०१३ मा अफगानिस्तानले साफ च्याम्पियनसिप जित्दा उसका लागि मुख्य हतियार युरोपका साना लिग खेल्ने खेलाडी बनेका थिए । विभिन्न उमेरमा अफगानिस्तान छाडेर युरोप सरेका ती खेलाडीको उपस्थितिमा अफगानिस्तान निकै बलियो देखिएको थियो ।

पाकिस्तानले पहिलेबाटै विदेशमा जन्मिएका तर पाकिस्तानी माटोसँग नाता भएका खेलाडीलाई टिममा समावेश गर्दै आएको छ ।

सन् २०१३ को साफ च्याम्पियनसिप विजेता अफगानिस्तान ।

तर बंगलादेश र श्रीलंकाले हाल भित्र्याएका वा भित्र्याउन चाहिरहेका खेलाडीको स्तर त्यसबेलाका अफगान खेलाडीको भन्दा निकै माथि छ । उदाहरणका लागि, ज्याक हिंगेर्ट । बेलायतमा जन्मिएका हिंगर्ट १४ वर्षको उमेरमा अस्ट्रेलिया पुगेका थिए । जहाँ उनले ब्रिसबेन रोअर्सबाट दुई पटक शीर्ष श्रेणीको लिग ‘ए’ लिग जितेका छन् । बंगलादेशको हकमा अर्को उदाहरण हुन्, क्युवा राउल मिचेल । उनी हाल इङ्लिस क्लब सन्डरल्यान्डको २१ वर्षको मुनिका टिममा छन् । उनीसँगै नेदरल्यान्ड्सको दोस्रो श्रेणीको क्लब एफसी एम्मेमसँग आबद्ध निलाय भान डेर प्लोइग पनि बंगलादेशी राष्ट्रिय टिमसँग जोडिने चर्चा छ ।

लामो समय फुटबल शून्य बनेको पाकिस्तान केही समययता तंग्रिने प्रयासमा छ । बंगलादेश र श्रीलंकामा जस्तै दोहोरो पासपोर्ट बोक्न छुट भएकाले पाकिस्तानले पहिलेबाटै विदेशमा जन्मिएका तर पाकिस्तानी माटोसँग नाता भएका खेलाडीलाई टिममा समावेश गर्दै आएको छ ।

एसियन कप छनाेटमा म्यानमारसँगको खेलका लागि डाकिएको पाकिस्तानी टिममा कप्तान मोह्म्मद फजलसहित पाकिस्तानबाहिर जन्मिएका सात खेलाडी थिए । पाकिस्तानले निरन्तर अन्तर्राष्ट्रिय फुटबल खेल्ने हो भने, यो टिम विदेशमा जन्मिएका खेलाडीको बलमा बलियो बन्ने सम्भावना छ । यसबीचमा न्युजिल्यान्डको अकल्यान्ड एफसीबाट फिफा क्लब विश्वकप खेल्न लागेका ह्यारिस जेबले आफू अन्तर्राष्ट्रिय फुटबलमा पाकिस्तानको जर्सी लगाउन तयार रहेको अभिव्यक्ति दिएपछि पाकिस्तानी समर्थक उत्साहित देखिएका छन् ।

पाकिस्तानी टोली । 

आउने दिनमा दक्षिण एसियाली फुटबल बदलिने पक्का छ । र, यसको कारण विदेशमा जन्मिएका वा स्थानीय लिगमा खेल्ने विदेशी खेलाडीलाई पासपोर्ट वितरण हुनेछ । विश्व फुटबल, विशेषगरि पछिल्लो समय पूर्वी एसियाली फुटबलमा चलेको यो चलनलाई सफलताको लागि ‘सर्टकर्ट’ बाटोको रुपमा दक्षिण एसियाले आत्मसात गर्ने देखिन्छ । तर भारत र नेपाल जस्ता देशका लागि भने यो बाटो बन्द छ । यस्तोमा प्रश्न उठ्छ, यी देशले यो बेगलाई झेल्न सक्छन् ?