चैत्र ७, २०८२ शनिबार | ०१:१६:२६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने
शनिबारको दिन

यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती

काठमाडौं । माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा पाँच भिन्न ब्याचले अहिलेसम्म नेपालको प्रतिनिधित्व गरिसकेका छन् । अहिले छैटौं ब्याच उपाधि लक्ष्यसहित यही मार्च २३ देखि अप्रिल ४ सम्म हुने साफ यु-२० च्याम्पियनसिप खेल्न माल्दिभ्स पुगेको छ ।

घरेलु भूमिमा सम्पन्न पहिलो संस्करणमा बालगोपाल महर्जनको प्रशिक्षणमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर नेपाल च्याम्पियन बनेको थियो । त्यतिबेला महर्जनले विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङ, दीनेश राजवंशीसहितको एन्फा एकेडेमी ब्याचको नेतृत्व गरेका थिए ।

भुटानमा सम्पन्न दोस्रो संस्करणमा छिरिङ लोप्साङ गुरुङको टोलीले उपाधि चुम्यो । अर्पण कार्की कप्तान रहेको यो टोली पनि रेजिन सुब्बा, एरिक विष्ट, सुमन अर्याल, अनिल महर्जन जस्ता एन्फा एकेडेमीका उत्पादनले भरिएको थियो ।

त्यसपछि पालो आयो जय गुरुङ, दर्शन गुरुङ, रन्दीप पौडेल र विशाल सुनारहरुको । भुटानमा प्राप्त सफलतापछि उमेर समूहमा रहँदै आएको नेपालको ‘किङ अफ साउथ एसिया’ छवि झनै सर्वस्वीकार्य हुन थालेको थियो । जय, दर्शनहरुलाई २०१९ मा घरमै भएको तेस्रो संस्करणमा चेतनारायाण श्रेष्ठले नेतृत्व गरेका थिए । तर, टोली पहिलो चरणबाटै बहिरियो । यहीबाट नेपालको उपाधि जित्ने लय विग्रन थाल्यो ।

जयको ब्याचपछि पालो थियो आयुष घलान, कृतिशरत्न छुन्जु, दीपेश गुरुङहरुको । यो टोलीलाई सन् २०२२ मा मेघराज केसीले लिड गरेका थिए । टोलीले फाइनलको यात्रा गर्न सकेन ।

त्यसपछि पाँचौं ब्याचका रुपमा समीर तामाङ, राम थापा, लछ्छु थापा, अनिल बोम्जन लामा, कुशल देउवा, अश्विन घोरासैनीहरुको उदय भयो । यो टोलीले दुईपटक देशको प्रतिनिधित्व गर्ने सौभाग्य पायो । नेपालले २०२३ मा यु-१९ र लगत्तैको वर्ष यु-२० च्याम्पियनसिपमा दक्षिण एसियाका राष्ट्रलाई आतिथ्य गरेको थियो । भुटानको त्यो उपलब्धिपछि पहिलोपटक नेपाल उपाधिको नजिक पुग्यो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न साफ यु-२० च्याम्पियनसिपमा नेपालले फाइनलको यात्रा गरेको थियो । टोलीको टचलाइन उर्जन श्रेष्ठले सम्हालेका थिए । त्यसअघि यु-१९ को जिम्मेवारीमा सुनिल श्रेष्ठ थिए ।

उर्जनको नेतृत्वमा नेपाली समर्थकले तेस्रो उपाधिको सपना बुनेका थिए । तर, फाइनलमा नेपालले बंगलादेशविरुद्ध ४-१ को हार बेहोर्यो ।

एक वर्षपछि अर्थात २०२५ मा भारतमा सम्पन्न सातौं संस्करणमा पनि टोलीको जिम्मेवारी उर्जनलाई दिइएको थियो । यसपाली नेपालको जर्सी लगाउने पालो थियो विज्ञान खड्का, सविनकुमार लुङ्गेली, सुवास वम, कृष्णबहादुर आले, भक्तबहादुर परियारहरुको । यो टोलीका कप्तान थिए अनुभवी राम थापा । साथै पहिले नै यु-२० खेलिसकेका धर्वेन्द्र कुंवर, सुजन डंगोल र लछ्छ्ु थापाको उपस्थितिले टोलीलाई बल दिएको थियो । तर, यसपटक पनि टोली उपाधिबाट विमुख भयो । टोली सेमिफाइनलबाट बाहिरिएको थियो ।

यसपाली लगातार तेस्रोपटक उर्जनलाई टोलीको जिम्मेवारी दिइएको छ । माल्दिभ्समा यही सुवास वमको ब्याचले दोस्रोपटक माथिल्लो उमेर समूहमा नेपालको जर्सी लगाउँदैछन् । भारत भ्रमण गरेको टोलीबाट १३ जना त पुरानै खेलाडी छन् । जसले उर्जनलाई पक्कै पनि सजिलो बनाएको छ ।

‘आफूले नै हुर्काएका खेलाडीसँग फेरि पनि जोडिन पाउँदा प्रशिक्षकका रुपमा सजिलो भएको छ । मलाई हरेक खेलाडीका कमि कमजोरी र विशेषता थाहा छ । त्यही अनुसार काम गरेको छु । यसपाली सकारात्मक नतिजा ल्याउनेमा आशावादी छु,’ माल्दिभ्स जानुअघि श्रेष्ठले भने ।

उर्जनका लागि तल्लो र माथिल्लो उमेर समूह गरि समग्रमा यो चौथो साफ प्रतियोगिता हो । यसअघि सन् २०२२ मा उनले यु-१७ टोलीको टचलाइन पनि सम्हालेका थिए । पछिल्लो चार वर्षमा यसरी पटक-पटक जिम्मेवारी पाइरहँदा उनले देशलाई उपाधि दिलाउन भने सकेका छैनन् । जसका कारण उनी आलोचनाको केन्द्रमा पनि रहँदै आएका छन् । श्रेष्ठ सा–साना गल्तीहरुका कारण विगतमा उपाधिबाट चुक्नुपरेको बताउँछन् । यसपाली यस्तो नहुने उनको दाबी छ ।

‘मैले कोशिस नै नगरेको पनि त होइन । यु-१७ लाई पनि जोड्ने हो भने मेरो नेतृत्वमा दुईपटक त फाइनल नै खेलिसकेको छ । तर, स–साना गल्तीहरुका कारण हामी पराजय बेहोर्न बाध्य भएका हौं,’ श्रेष्ठले भने, ‘दुवैपटक हामीले समूह चरणमा हराएकै टोलीले फाइनलमा हामीलाई स्तब्ध बनाए । दुई वर्षअघि खेलाडी ओभर एक्साइटेड भए । टिम वर्कमा समस्या देखिएको थियो । यसपाली त्यस्तो हुनेछैन ।’

दुई वर्षअघि समीर, कुशल, अनिलको त्यो ब्याचले सँगै तीन प्रतियोगिता खेले । तीनमध्ये दुईमा फरवार्ड धर्वेन्द्र कुंवरले टोलीमा स्थान बनाए । साफ यु-२० च्याम्पियनसिप २०२४ लगत्तै नेपालले एएफसी छनोटमा प्रतिस्पर्धा गरेको थियो । दुवै प्रतियोगितामा उनी बेन्चमै सीमित भए । अघिल्लो वर्ष भारतमा भने उनले खुलेरै मौका पाए । उनी टोलीका महत्वपूर्ण खेलाडी थिए ।

यसपाली समग्रमा चौथो प्रतियोगिता खेलिरहेका धर्वेन्द्रलाई कप्तानको आर्मब्याण्ड दिइएको छ । राजधानीमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युवा क्लबबाट खेलिरहेका धर्वेन्द्र शीर्ष डिभिजनको अनुभव भएका एक्ला खेलाडी हुन् । उनीबाहेक बाँकी २२ खेलाडीसँग शीर्ष डिभिजन लिगको अनुभव छैन । उनले जावलाखेलबाटै तीन वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए ।

नेपालमा प्रायः प्रतियोगिताका लागि बिदाई भइरहँदा खेलाडीलाई कप्तान जिम्मेवारी दिने चलन छ । यसपाली २० दिनअघि नै कप्तान तोकिएको थियो ।

‘आश्चर्य पनि लागेको थियो । खुसी थिएँ कप्तान भएको सुन्दा । थप जिम्मेवारी महसुस गरेको छु । टिम भएर खेल्नेछौं । उपाधि जित्ने लक्ष्य छ,’ मुस्कुराउँदै धर्वेन्द्रले भने, ‘मेरो प्रदर्शनपछाडि जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ ।’

पाँच अन्तर्राष्ट्रिय क्याप जितिसकेका सुवास वम टोलीका हेर्नलायक खेलाडी हुन् । वाइड अट्याकिङ मिडफिल्डरको भूमिकामा देखिने सुवासका लागि समग्रमा उमेर समूहको यो छैटौं साफ च्याम्पियनसिप हो ।

गत वर्ष भारतमा साफ यु-१९ च्याम्पियनसिप खेल्न जानुअघि नै उनी अन्तर्राष्ट्रिय खेलाडी बनिसकेका थिए । मार्चमा सुवासले सिंगापुरविरुद्धको ऐतिहासिक जितमा ‘डेब्यु’ पाएका थिए । दुई महिनापछि उनले भारत भ्रमण गरेका थिए ।

माल्दिभ्समा खेल कौशल देखाउने क्रममा उनले थप चार क्याप जितिसकेका छन् । जसले पक्कै पनि उनलाई यसपाली थप जिम्मेवारीबोध बनाएको छ ।

‘सबैको आशा छ । धेरै वर्ष भइसक्यो हामीले उपाधि जित्न नसकेको । यसपाली सबैले मिहिनेत गर्नुभएको छ । सकारात्मक छौं,’ सुवासले भने ।

नेपाली टोली करिब ४० दिनको प्रशिक्षणपछि माल्दिभ्स पुगेको हो । अधिकांश खेलाडीले राष्ट्रिय लिग खेलिरहेका थिए । जसले टोलीलाई फाइदा र बेफाइदा दुवै भएको श्रेष्ठ बताउँछन् ।

‘खेलाडीले म्याच एक्सपोजर राम्रै पाए । तर, हामीले सँगै बसेर प्रशिक्षण गर्न पाएनौं । दिन बिराएर हुने खेल तालिकाका कारण खेलाडीलाई खेलपछि आराम दिनुपर्ने भएकाले यस्तो अवस्था सिर्जना भएको हो,’ श्रेष्ठले भने, ‘इन्जुरीलाई मध्यनजर गर्दै हामीले अन्तिम एक हप्ता खेलाडीलाई कतै पठाएनौं ।’