काठमाडौं । माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा पाँच भिन्न ब्याचले अहिलेसम्म नेपालको प्रतिनिधित्व गरिसकेका छन् । अहिले छैटौं ब्याच उपाधि लक्ष्यसहित यही मार्च २३ देखि अप्रिल ४ सम्म हुने साफ यु-२० च्याम्पियनसिप खेल्न माल्दिभ्स पुगेको छ ।
घरेलु भूमिमा सम्पन्न पहिलो संस्करणमा बालगोपाल महर्जनको प्रशिक्षणमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर नेपाल च्याम्पियन बनेको थियो । त्यतिबेला महर्जनले विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङ, दीनेश राजवंशीसहितको एन्फा एकेडेमी ब्याचको नेतृत्व गरेका थिए ।
भुटानमा सम्पन्न दोस्रो संस्करणमा छिरिङ लोप्साङ गुरुङको टोलीले उपाधि चुम्यो । अर्पण कार्की कप्तान रहेको यो टोली पनि रेजिन सुब्बा, एरिक विष्ट, सुमन अर्याल, अनिल महर्जन जस्ता एन्फा एकेडेमीका उत्पादनले भरिएको थियो ।
त्यसपछि पालो आयो जय गुरुङ, दर्शन गुरुङ, रन्दीप पौडेल र विशाल सुनारहरुको । भुटानमा प्राप्त सफलतापछि उमेर समूहमा रहँदै आएको नेपालको ‘किङ अफ साउथ एसिया’ छवि झनै सर्वस्वीकार्य हुन थालेको थियो । जय, दर्शनहरुलाई २०१९ मा घरमै भएको तेस्रो संस्करणमा चेतनारायाण श्रेष्ठले नेतृत्व गरेका थिए । तर, टोली पहिलो चरणबाटै बहिरियो । यहीबाट नेपालको उपाधि जित्ने लय विग्रन थाल्यो ।

जयको ब्याचपछि पालो थियो आयुष घलान, कृतिशरत्न छुन्जु, दीपेश गुरुङहरुको । यो टोलीलाई सन् २०२२ मा मेघराज केसीले लिड गरेका थिए । टोलीले फाइनलको यात्रा गर्न सकेन ।
त्यसपछि पाँचौं ब्याचका रुपमा समीर तामाङ, राम थापा, लछ्छु थापा, अनिल बोम्जन लामा, कुशल देउवा, अश्विन घोरासैनीहरुको उदय भयो । यो टोलीले दुईपटक देशको प्रतिनिधित्व गर्ने सौभाग्य पायो । नेपालले २०२३ मा यु-१९ र लगत्तैको वर्ष यु-२० च्याम्पियनसिपमा दक्षिण एसियाका राष्ट्रलाई आतिथ्य गरेको थियो । भुटानको त्यो उपलब्धिपछि पहिलोपटक नेपाल उपाधिको नजिक पुग्यो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न साफ यु-२० च्याम्पियनसिपमा नेपालले फाइनलको यात्रा गरेको थियो । टोलीको टचलाइन उर्जन श्रेष्ठले सम्हालेका थिए । त्यसअघि यु-१९ को जिम्मेवारीमा सुनिल श्रेष्ठ थिए ।
उर्जनको नेतृत्वमा नेपाली समर्थकले तेस्रो उपाधिको सपना बुनेका थिए । तर, फाइनलमा नेपालले बंगलादेशविरुद्ध ४-१ को हार बेहोर्यो ।

एक वर्षपछि अर्थात २०२५ मा भारतमा सम्पन्न सातौं संस्करणमा पनि टोलीको जिम्मेवारी उर्जनलाई दिइएको थियो । यसपाली नेपालको जर्सी लगाउने पालो थियो विज्ञान खड्का, सविनकुमार लुङ्गेली, सुवास वम, कृष्णबहादुर आले, भक्तबहादुर परियारहरुको । यो टोलीका कप्तान थिए अनुभवी राम थापा । साथै पहिले नै यु-२० खेलिसकेका धर्वेन्द्र कुंवर, सुजन डंगोल र लछ्छ्ु थापाको उपस्थितिले टोलीलाई बल दिएको थियो । तर, यसपटक पनि टोली उपाधिबाट विमुख भयो । टोली सेमिफाइनलबाट बाहिरिएको थियो ।
यसपाली लगातार तेस्रोपटक उर्जनलाई टोलीको जिम्मेवारी दिइएको छ । माल्दिभ्समा यही सुवास वमको ब्याचले दोस्रोपटक माथिल्लो उमेर समूहमा नेपालको जर्सी लगाउँदैछन् । भारत भ्रमण गरेको टोलीबाट १३ जना त पुरानै खेलाडी छन् । जसले उर्जनलाई पक्कै पनि सजिलो बनाएको छ ।
‘आफूले नै हुर्काएका खेलाडीसँग फेरि पनि जोडिन पाउँदा प्रशिक्षकका रुपमा सजिलो भएको छ । मलाई हरेक खेलाडीका कमि कमजोरी र विशेषता थाहा छ । त्यही अनुसार काम गरेको छु । यसपाली सकारात्मक नतिजा ल्याउनेमा आशावादी छु,’ माल्दिभ्स जानुअघि श्रेष्ठले भने ।
उर्जनका लागि तल्लो र माथिल्लो उमेर समूह गरि समग्रमा यो चौथो साफ प्रतियोगिता हो । यसअघि सन् २०२२ मा उनले यु-१७ टोलीको टचलाइन पनि सम्हालेका थिए । पछिल्लो चार वर्षमा यसरी पटक-पटक जिम्मेवारी पाइरहँदा उनले देशलाई उपाधि दिलाउन भने सकेका छैनन् । जसका कारण उनी आलोचनाको केन्द्रमा पनि रहँदै आएका छन् । श्रेष्ठ सा–साना गल्तीहरुका कारण विगतमा उपाधिबाट चुक्नुपरेको बताउँछन् । यसपाली यस्तो नहुने उनको दाबी छ ।

‘मैले कोशिस नै नगरेको पनि त होइन । यु-१७ लाई पनि जोड्ने हो भने मेरो नेतृत्वमा दुईपटक त फाइनल नै खेलिसकेको छ । तर, स–साना गल्तीहरुका कारण हामी पराजय बेहोर्न बाध्य भएका हौं,’ श्रेष्ठले भने, ‘दुवैपटक हामीले समूह चरणमा हराएकै टोलीले फाइनलमा हामीलाई स्तब्ध बनाए । दुई वर्षअघि खेलाडी ओभर एक्साइटेड भए । टिम वर्कमा समस्या देखिएको थियो । यसपाली त्यस्तो हुनेछैन ।’
दुई वर्षअघि समीर, कुशल, अनिलको त्यो ब्याचले सँगै तीन प्रतियोगिता खेले । तीनमध्ये दुईमा फरवार्ड धर्वेन्द्र कुंवरले टोलीमा स्थान बनाए । साफ यु-२० च्याम्पियनसिप २०२४ लगत्तै नेपालले एएफसी छनोटमा प्रतिस्पर्धा गरेको थियो । दुवै प्रतियोगितामा उनी बेन्चमै सीमित भए । अघिल्लो वर्ष भारतमा भने उनले खुलेरै मौका पाए । उनी टोलीका महत्वपूर्ण खेलाडी थिए ।
यसपाली समग्रमा चौथो प्रतियोगिता खेलिरहेका धर्वेन्द्रलाई कप्तानको आर्मब्याण्ड दिइएको छ । राजधानीमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युवा क्लबबाट खेलिरहेका धर्वेन्द्र शीर्ष डिभिजनको अनुभव भएका एक्ला खेलाडी हुन् । उनीबाहेक बाँकी २२ खेलाडीसँग शीर्ष डिभिजन लिगको अनुभव छैन । उनले जावलाखेलबाटै तीन वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए ।

नेपालमा प्रायः प्रतियोगिताका लागि बिदाई भइरहँदा खेलाडीलाई कप्तान जिम्मेवारी दिने चलन छ । यसपाली २० दिनअघि नै कप्तान तोकिएको थियो ।
‘आश्चर्य पनि लागेको थियो । खुसी थिएँ कप्तान भएको सुन्दा । थप जिम्मेवारी महसुस गरेको छु । टिम भएर खेल्नेछौं । उपाधि जित्ने लक्ष्य छ,’ मुस्कुराउँदै धर्वेन्द्रले भने, ‘मेरो प्रदर्शनपछाडि जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ ।’
पाँच अन्तर्राष्ट्रिय क्याप जितिसकेका सुवास वम टोलीका हेर्नलायक खेलाडी हुन् । वाइड अट्याकिङ मिडफिल्डरको भूमिकामा देखिने सुवासका लागि समग्रमा उमेर समूहको यो छैटौं साफ च्याम्पियनसिप हो ।
गत वर्ष भारतमा साफ यु-१९ च्याम्पियनसिप खेल्न जानुअघि नै उनी अन्तर्राष्ट्रिय खेलाडी बनिसकेका थिए । मार्चमा सुवासले सिंगापुरविरुद्धको ऐतिहासिक जितमा ‘डेब्यु’ पाएका थिए । दुई महिनापछि उनले भारत भ्रमण गरेका थिए ।

माल्दिभ्समा खेल कौशल देखाउने क्रममा उनले थप चार क्याप जितिसकेका छन् । जसले पक्कै पनि उनलाई यसपाली थप जिम्मेवारीबोध बनाएको छ ।
‘सबैको आशा छ । धेरै वर्ष भइसक्यो हामीले उपाधि जित्न नसकेको । यसपाली सबैले मिहिनेत गर्नुभएको छ । सकारात्मक छौं,’ सुवासले भने ।
नेपाली टोली करिब ४० दिनको प्रशिक्षणपछि माल्दिभ्स पुगेको हो । अधिकांश खेलाडीले राष्ट्रिय लिग खेलिरहेका थिए । जसले टोलीलाई फाइदा र बेफाइदा दुवै भएको श्रेष्ठ बताउँछन् ।
‘खेलाडीले म्याच एक्सपोजर राम्रै पाए । तर, हामीले सँगै बसेर प्रशिक्षण गर्न पाएनौं । दिन बिराएर हुने खेल तालिकाका कारण खेलाडीलाई खेलपछि आराम दिनुपर्ने भएकाले यस्तो अवस्था सिर्जना भएको हो,’ श्रेष्ठले भने, ‘इन्जुरीलाई मध्यनजर गर्दै हामीले अन्तिम एक हप्ता खेलाडीलाई कतै पठाएनौं ।’