काठमाडौं । देशका विभिन्न भागहरुमा ग्रासरुट फुटबल र खेलकुद शिक्षा प्रवर्धन गर्दै आएको फुटबल यात्रीले शनिबार सोलुखुम्बुमा ‘फुटबल क्याम्प’ सम्पन्न गरेको छ ।
दुर्गम तथा सुविधाबाट वञ्चित क्षेत्रका बालबालिका र युवा खेलाडीहरुसम्म फुटबल पुर्याउने उद्धेश्यसहित सञ्चालन भइरहेको राष्ट्रव्यापी अभियानअन्तर्गत सोलुखुम्बु क्याम्प आयोजना गरिएको हो ।
क्याम्पका दौरान नेपाली राष्ट्रिय फुटसल टोलीका पूर्व प्रशिक्षक तथा फुटबल यात्रीका अध्यक्ष गौरव बस्नेतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा टिपटो स्पोर्ट्स एकेडेमीका सिइओ सुवास न्यौपानेको समेत उपस्थिति थियो ।

फुटबल यात्रीले गत वर्षदेखि नेपालभर खेलकुद प्रवर्धन, प्रतिभा पहिचान तथा फुटबल अनुसन्धानका उद्धेश्यसहित यस्ता क्याम्पहरु सञ्चालन गर्दै आएको छ । यसअघि संस्थाले सिन्धुपाल्चोक, धादिङ, झापा, नुवाकोट, जुम्ला, सुर्खेत, मुगु, बाँके, कैलालीलगायत विभिन्न जिल्लामा क्याम्प सम्पन्न गरिसकेको छ । दुई दिनअघि मात्र फुटबल यात्रीले ओखलढुंगाका बालबालिकालाई आधारभुत शिक्षा दिएको थियो ।
