असार ७, २०८२ शनिबार | ०४:०९:५४
‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैल गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ दक्षिण अफ्रिकाको यात्रा चोकर्सदेखि च्याम्पियनसम्म स्कटल्यान्डलाई त्रिकोणात्मक शृंखला, निर्णायक खेलमा नेपाल पराजित नेपाललाई पहिलो झट्का, भुर्तेल चार रन बनाउँदै पेभिलियन फर्किए स्कटल्यान्डले दियो नेपाललाई १९४ रनको लक्ष्य बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैल गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ दक्षिण अफ्रिकाको यात्रा चोकर्सदेखि च्याम्पियनसम्म स्कटल्यान्डलाई त्रिकोणात्मक शृंखला, निर्णायक खेलमा नेपाल पराजित नेपाललाई पहिलो झट्का, भुर्तेल चार रन बनाउँदै पेभिलियन फर्किए स्कटल्यान्डले दियो नेपाललाई १९४ रनको लक्ष्य बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान
शनिबारको दिन काउन्टर अट्याक

‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर

काठमाडौं । विश्व फुटबलमा एउटा शब्दावलीको चर्चा बेलाबखत खुब भइरहन्छ, ‘फलन जायन्ट’ अर्थात ओरालो लागेको महारथी । क्लब फुटबलमा इङ्ल्यान्डको लिड्स युनाइटेडदेखि सन्डरल्यान्ड, स्पेनका डेपोर्टिभो ला कोरुना र रियाल जारागोजा, फ्रान्सको सेन्ट इटेनलगायतका टोलीको नाम ‘झरेका महारथी’ अर्थात फलन जायन्टको रूपमा आइरहन्छ ।

यी सबै टिम कुनै समय आफ्नो देशको लिगका निर्विवाद महारथी थिए । तर विभिन्न समस्याका कारण आ-आफ्नो देशको शीर्ष डिभिजनबाट रेलिगेसन स्वीकार्न यी टिमहरू बाध्य भए । यीमध्ये कतिपय टिमले औपचारिक रूपमा पुरानो हैसियत पुनःप्राप्ति गरिसके पनि पुरानो रवाफ भने फर्काउन सकेका छैनन् ।

अन्तर्राष्ट्रिय फुटबलको कुरा गर्दा उरुग्वे फलन जायन्टको सबैभन्दा उपयुक्त उदाहरण हुनसक्छ । १९३० को पहिलो र १९५० को चौथो विश्वकपमा उपाधि जितेको उरुग्वेले त्यसयता कहिल्यै विश्व स्तरमा त्यो प्रभाव देखाउन सकेको छैन । १९७० पछि टोलीले सेमिफाइनलसम्मको यात्रा गरेको पनि २०१० मा मात्र हो ।

आहा रारा पोखरा गोल्डकपमा प्रतिस्पर्धा गर्दै थ्री स्टार (नीलो जर्सी) र आर्मी । 

नेपालको घरेलु फुटबलमा महावीर क्लब यसको सबैभन्दा गतिलो उदाहरण हुनसक्छ । २०११ सालको पहिलो लिग जितेको टोली अहिले ‘सी’ डिभिजनमा संघर्ष गरिरहेको छ । उसो त आरसिटी र एनआरटीजस्ता कुनै बेला नेपाली फुटबलमा एकछत्र राज गरेका टिमले पनि शीर्ष डिभिजनबाट घटुवा हुने अनुभव लिइसकेका छन् । आरसिटी त अहिले पनि ‘बी’ डिभिजनमै छ ।

काठमाडौं उपत्यकाको एउटा सानो सहर पाटनको क्लब भए पनि एकहिसाबमा देशव्यापी रूपमा फुटबलको संस्कार स्थापनामा थ्री स्टारको ठूलो योगदान थियो ।

महावीरदेखि आरसिटीसम्मको फलन जायन्टहरूको इतिहासमा यो साता अर्को एउटा नाम थपियो, थ्री स्टार क्लब । रगतमै फुटबल बग्ने पाटनवासी नेवार समुदायको मायामा हुर्किएको थ्री स्टार क्लब आधुनिक नेपाली फुटबलमा सबैभन्दा प्रभावशाली क्लब थियो । थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लब आधुनिक भनिने २०४६ यताको समयमा नेपाली फुटबलको पर्यायझै थियो ।

‘बी डिभिजन लिगमा टुसाल युथ क्लबसँग प्रतिस्पर्धा गर्दै आरसिटी (नीलो जर्सी) । 

थ्री स्टार मैदान उत्रिएपछि कुनै पनि खेलमा रंगशालामा टेक्ने ठाउँ नहुनु स्वभाविक जस्तै थियो । अझ थ्री स्टारको खेल मनाङसँग भए त रंगशालावरिपरि सुरक्षा र ट्राफिक व्यवस्थापन पनि ठूलै चुनौती हुन्थ्यो । काठमाडौं उपत्यकाको एउटा सानो सहर पाटनको क्लब भए पनि एकहिसाबमा देशव्यापी रूपमा फुटबलको संस्कार स्थापनामा थ्री स्टारको ठूलो योगदान थियो ।

एकहिसाबले पूर्ण रूपमा एमेच्योर ढर्रामा घिस्रिइरहेको नेपाली फुटबललाई व्यावसायिक बनाउने बाटोमा सबैभन्दा आक्रामक रूपमा नेतृत्व दिने जस थ्री स्टारले इतिहासमा लेखाइसकेको थियो । २०६० को दशकमा फुटबललाई कम्तीमा अर्धव्यावसायिक बनाउने अभियानमा क्लबको नाममै प्रायोजकको नाम जोड्ने जोखिम यही क्लबले मोलेको थियो ।

पहिलो पटक २०६२ सालमा नबिल बैंकसँग प्रायोजन सम्झौता गर्दा क्लबको नाम नै फेरेर नबिल थ्री स्टार क्लब बनाइयो । क्लबको यो कदमले पाटनका रैथाने नेवारको मनमा ठेस पुग्यो । क्लब भवन र तत्कालीन अध्यक्ष ललितकृष्ण श्रेष्ठको घर वरिपरि आक्रोशित स्थानीयको भिड लाग्यो । तर नेपाली फुटबलमा पायोनियरको दर्जा पाउने बाटोमा पुगेका ललितकृष्णले त्यो सामाजिक दबाब सहजैसँग झेले । क्लबको हितका लागि चालिएको कदमबाट पछि हटेनन् । केही वर्षभित्रै नेपाली फुटबलमा सबैजसो क्लबको नाममा प्रायोजकको नाम पनि जोडिन थाल्यो ।

मोफसलमा हुने नकआउट प्रतियोगिताहरूको स्तर नाप्ने एउटा मापक हुने गथ्र्यो, प्रतियोगितामा थ्री स्टार र मनाङजस्ता टिमले भाग लिएको छ कि छैन भनेर ।

शीर्ष डिभिजन लिगमा एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्दै थ्री स्टार (नीलो जर्सी) । 

हुन पनि २०५४ मा पहिलो पटक लिग जितेको थ्री स्टारले २०६१ र २०६९ मा समेत गरी तीन पटक सहिद स्मारक लिग र २०७२ मा राष्ट्रिय लिग जित्ने बेलासम्मको दुई दशक नेपाली फुटबलमा पाटने रवाफसँगै एकछत्र राज गरेको थियो । त्यो यस्तो समय थियो, जतिबेला देशभित्र हुने कुनै पनि प्रतियोगितामा थ्री स्टारले भाग लिए मात्र पुग्थ्यो । टोलीलाई उपाधिको निर्विवाद दाबेदारमा लिइन्थ्यो ।

मोफसलमा हुने नकआउट प्रतियोगिताहरूको स्तर नाप्ने एउटा मापक हुने गथ्र्यो, प्रतियोगितामा थ्री स्टार र मनाङजस्ता टिमले भाग लिएको छ कि छैन भनेर । थ्री स्टार सहभागी हुनुको अर्थ दर्शकको खचाखच उपस्थिति र त्यसबाट उठ्ने पैसाबाट प्रतियोगिता नाफामा जाने पक्का हुन्थ्यो ।

तर बागमती नदीमा धेरै पानी बगिसकेको छ । भुइँचालोपछि थ्री स्टार क्लबले त्यो पुरानो रवाफ विस्तारै गुमाउँदै गयो । अवस्था यहाँसम्म आइपुग्यो कि सधैं ‘उपाधिको निर्विवाद दाबेदार’ बाट पछिल्लो दशकमा थ्री स्टारको छवि ‘रेलिगेसन ब्याटल’को टिममा परिणत भयो । जुन ब्याटलमा यसपालि थ्री स्टार पराजित भयो । दुई वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९-८० को अन्तिम खेलमा गरेको गल्तीको सजाय थ्री स्टारले बिहीबार भोग्नुपर्यो । २०३९ सालदेखि शीर्ष डिभिजनमा खेल्दै आएको नेपाली फुटबलको महारथी थ्री स्टार क्लब औपचारिक रूपमा ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

शीर्ष डिभिजन लिगमा जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दै थ्री स्टार (नीलो जर्सी) । 

खासमा लिगको अन्तिम खेलमा जावलाखेल युथ क्लबविरुद्ध भिसा अवधि सकिइसकेका दुई विदेशी खेलाडी खेलाउनाको मूल्य थ्री स्टारले चुकाउनुपरेको हो । देशको कानुन र फुटबलको नियमविपरीत भिसा नभएका खेलाडी खेलाएका कारण १-० को नतिजामा जितेको खेलमा पनि थ्री स्टारले नतिजा विपक्षीलाई ३-० ले सुम्पिनुपर्यो । जसका कारण टोली रेलिगेसनको सिकार भयो ।

 क्लबले पाटनका रैथानेको फुटबल भावनालाई सही नेतृत्व गर्न सकेन । पाटनको फुटबल सान जोगाउने मामिलामा नेतृत्व नराम्ररी चुक्यो । 

एन्फाको अपिल कमिटीले बिहीबार त्यस विषयमा निर्णय गरेपछि थ्री स्टारले शीर्ष डिभिजनको हैसियत गुमाएको हो । तर विषय यहाँ यो होइन । फुटबलमा जित-हार स्वभाविक प्रक्रिया हो । अनि बढुवा र घटुवा भनेको लिगको सबैभन्दा रोमाञ्चक आकर्षण हो । तर थ्री स्टार जस्तो टिम रेलिगेसनबाट जोगिन त्यसरी अवैधानिक खेलाडी खेलाउनुपर्ने र एउटा खेलको नतिजाका कारण रेलिगेसनमै पर्ने अवस्थामा पुग्नु यहाँ चर्चाको विषय हो ।

यस अर्थमा कुनै फुलबुट्टा नहाली भन्न सकिन्छ, क्लबले पाटनका रैथानेको फुटबल भावनालाई सही नेतृत्व गर्न सकेन । पाटनको फुटबल सान जोगाउने मामिलामा नेतृत्व नराम्ररी चुक्यो । पाटनको मात्र नभई, काठमाडौं उपत्यकाको मात्र नभई सम्पूर्ण नेपाली फुटबलकै नेतृत्व गर्ने अवस्थाबाट थ्री स्टार एउटा निरीह र बबुरो क्लबमा रूपान्तरित भएको छ ।

स्व. ललितकृष्ण श्रेष्ठ ।

उसो त क्लब र फुटबलका लागि पूर्ण रूपमा आफूलाई समर्पित गर्ने ललितकृष्णको सबल नेतृत्व अहिले क्लबसँग छैन । थ्री स्टारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ठाँट र रवाफ जमाउन सक्ने अवस्थामा पुर्याउने ललितकृष्णको समन्वयकारी नेतृत्व क्लबले गुमाएको १० वर्ष भइसकेको छ । २०७२ जेठ २९ गते आफ्नै नवनिर्मित घरमा करेन्ट लागेर उनको निधन भएको थियो । त्यसयता ललितकृष्णको प्रेरणादायी नेतृत्वका लागि थ्री स्टारमात्र नभई सम्पूर्ण नेपाली फुटबल नै प्रत्येक दिन कल्पिइरहेको छ ।

एन्फा र क्लबले निकै भावुक शैलीमा श्रेष्ठको १०औं स्मृति दिवस मनाएको धेरै दिन भएको छैन । नेपाली समाजले विश्वास गर्नेजस्तो माथिल्लो लोक हुन्छ भने त्यहाँबाट आफ्नो क्लब र समग्र नेपाली फुटबल अनि एन्फाको अधोगति देख्नुपर्दा सायद ललितकृष्ण खुसी थिएनन् होला । उनलाई सम्झिएको नाटक नेपाली फुटबलले प्रत्येक वर्ष मञ्चन गर्दा पनि ललितकृष्ण श्रेष्ठको मन हाँस्न सकेको थिएन होला ।

आजको मितिमा थ्री स्टारले पाँच दशकभन्दा लामो विरासत गुमाइसकेको छ । टोली ‘बी’ डिभिजनमा घटुवा भइसकेको छ । 

तर १०औं स्मृति दिवसका नाममा नेपाली फुटबल र थ्री स्टार क्लब अनि जीवित हुँदाको आफूबारे लामा बनावटी भाषण गरेको ७ दिनमै अपिल कमिटीको यस्तो निर्णय आउँदा ललितकृष्ण श्रेष्ठको मन कति रोयो होला । ललितकृष्णले ‘माथिल्लो लोक’बाट के सोचे होलान भन्ने कुरा पनि भौतिकवादी दुनियाँमा गौण होला । तर रगतमै फुटबल बग्ने पाटनका रैथानेको भावनामा कति ठेस पुग्यो होला ?

शीर्ष डिभिजन लिगमा प्रतिस्पर्धा गर्दै थ्री स्टार (नीलो जर्सी) र मनाङ मर्स्याङ्दी ।

अपिल कमिटीको निर्णय फुटबलमा अन्तिम मानिन्छ । तथापि अब थ्री स्टारले यो निर्णयविरुद्ध अपिल गर्ने दुई विकल्प चाहिँ छ । कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस (सिएएस) वा नेपालको अदालतमा मुद्दा दायर गर्ने । सँगै अपिल कमिटीको वैधानिकता खोज्ने, समयमा निर्णय नगरिएको वा फिफा कनेक्टमा एन्फा आफैले दर्ता गराएको जस्ता तर्क गर्ने विकल्प पनि थ्री स्टारसँग बाँकी नै छन् । तर सबै ठाउँमा पुग्दा आफैले भिसा नभएका खेलाडी खेलाएका कारण थ्री स्टारको दाबी कमजोर हुनसक्छ ।

जे जसो भने पनि आजको मितिमा थ्री स्टारले पाँच दशकभन्दा लामो विरासत गुमाइसकेको छ । टोली ‘बी’ डिभिजनमा घटुवा भइसकेको छ । यथार्थ यही हो । विश्व फुटबलको इतिहासमा एक पटक हैसियत गुमाएपछि फेरि पुरानै अवस्थामा फर्किएका उदाहरण धेरै छन् । त्यसबाट भने क्लबले प्रेरणा लिन सक्छ ।

सन् २००६ मा खेल मिलेमतोको अभियोगमा दोषी साबित भएपछि इटालियन च्याम्पियन युभेन्टस शीर्ष डिभिजनबाट घटुवा भएको थियो । त्यही क्लब लगत्तैको सिजनमा शीर्ष डिभिजनमा फर्किएर लगातार ९ पटक इटालियन सिरी ‘ए’ च्याम्पियन भएको सबैलाई थाहा छ । थ्री स्टारका पदाधिकारीलाई पनि यो जानकारी नभएको विषय होइन । अब पाटनका रैथानेको फुटबलप्रेमलाई सही नेतृत्व गर्दै थ्री स्टारले युभेन्टसबाट प्रेरणा लिनुपर्छ । नेपाली फुटबलमा विगतभन्दा पनि बलियो तरिकाले थ्री स्टारको पुनरागमन कथा लेख्नुपर्छ ।