काठमाडौं । नेपाली महिला फुटबल टोली अहिले एउटा दुर्लभ अवसर नजिक छ । त्यो हो, पहिलो पटक छनोट चरण पार गरेर एएफसी एसियन कपमा पुग्ने । जुन २९ (भोलि) देखि हुने एएफसी एसियन कप छनोटमा समूह ‘एफ’मा नेपालले लाओस, श्रीलंका र उज्वेकिस्तानसँग खेल्दै छ । व्यावहारिक हिसाबमा भन्ने हो भने घरेलु टोली उज्वेकिस्तानलाई हराएको खण्डमा नेपालले इतिहास रच्न सक्छ । यो यस्तो अवसर हो, जसले नेपाली फुटबलको नक्सा बदल्न सक्छ ।
भनिन्छ नि मौका आउँछ, फेरि फर्किंदैन । सायद आउने दिनमा नेपाली टोलीसामु यस्तो सहज अवसर बिरलै आउने छ । फेरि अबको दिनमा यति गजबको नेपाली टोली अपेक्षा गर्न पनि त सकिँदैन । पछिल्लो केही वर्ष नेपाली महिला फुटबल ‘गोल्डेन जेनेरेसन’को प्रदर्शनमा रमिरहेको छ । भन्नेले के पनि भन्छन् भने नेपालमा अब यत्तिको टिम जन्मँदैन । अबको पाँच वर्षपछि टोलीमा एक युगको परिवर्तन हुने सम्भावना बढी छ । त्यसैले उज्वेकिस्तानको तास्केन्दमा नेपाली टोली ‘गर या मर’को अवस्थामा हुनेछ ।
एएफसी एसियन कप छनोट प्रतियोगितामा नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा १००औं खेलको कोसेढुंगा पार गर्दैछ । सन् १९८६ मा हङकङमा सम्पन्न एएफसी महिला च्याम्पियनसिपको छैटौं संस्करणदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन थालेको नेपालले त्यसपछि १९८९ र १९९९ को संस्करण खेल्यो । जतिबेला टोली सोझै एएफसी च्याम्पियनसिपमा छनोट हुने गर्थे ।

यो ४० वर्षे इतिहासमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा एक दर्जन फाइनल खेलेको छ । यी सबै अवसरमा नेपाल उपाधिबाट वञ्चित हुनुपरेको छ ।
सन् २००६ मा अस्ट्रेलियामा भएको १५औं संस्करणदेखि छनोट चरण पार गर्ने टोलीले मात्र एसियन कपमा स्थान बनाउने नियम लागू भयो । अघिल्लो संस्करण नेपालले अन्तिम केही मिनेट सम्हालिन नसक्दा फिलिपिन्ससँग पराजय बेहोरेको थियो । जसका कारण एसियन कप पुग्न नेपालले थप चार वर्ष कुर्नुपरेको हो ।
यो ४० वर्षे इतिहासमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा एक दर्जन फाइनल खेलेको छ । यी सबै अवसरमा नेपाल उपाधिबाट वञ्चित हुनुपरेको छ ।
एसियन कप/विश्वकपमा स्थान बनाउन महिला फुटबलमा जति सहजता छ, पुरुष फुटबलमा त्यो सौभाग्य प्राप्त गर्न सकिन्न । महिला फुटबलमा त ‘जित्यो कि पुग्यो भन्ने अवस्था छ । उज्वेकिस्तानमा राम्रो गर्न इतिहास रच्न सके नेपालले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको २१औं संस्करणमा स्थान बनाउने छ । यो भनेको २०२७ मा ब्राजिलमा हुने फिफा विश्वकपको १०औं संस्करणको नतिजासम्म पुग्नु हो ।

अस्ट्रेलिलयामा १२ टोलीलाई चार समूहमा विभाजन गरिनेछ । सिंगल राउन्ड रोबिन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्ष दुई र थप दुई उत्कृष्ट तेस्रो स्थानको टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छ । यी आठ टोलीमध्ये ६ टोलीले स्वतः ब्राजिलको टिकट काट्नेछ । अनि बाँकी दुई टोलीले अन्तर महासंघ प्लेअफमा एसियाको प्रतिनिधित्व गर्नेछ । त्यसमा सफलता हासिल गरे यी टोलीले पनि विश्वकप खेल्नेछ ।
नेपालको पछिल्लो अवस्था हेरेर नेपाली समर्थकलाई नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड धैर्य गर्न आह्वान गर्छन् ।
पछिल्लो एक वर्ष घरेलु र अन्तर्राष्ट्रिय फुटबलमा बाक्लो एक्सपोजर पाएको नेपाली टोलीले एसियन कप र विश्वकपमा पुग्न यो भन्दा ठूलो अवसर पाउने छैन । किनभने समूह ‘एफ’मा नेपाल फिफा वरीयतामा उज्वेकिस्तानपछिको बलियो टोली हो । यी दुवैको भेट समूह चरणको अन्तिम खेलमा हुनेछ । जसले गर्दा प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । अर्को दुवै टोलीले अहिलेसम्म छनोट चरण पार गरेर एएफसीको प्रतियोगिता खेलेका छैन ।
नेपाली टोलीले उज्वेकिस्तान भ्रमणको तयारीस्वरुप चार साताअघि तुलनात्मक रूपमा बलियो थाइल्यान्डसँग मैत्रीपूर्ण खेल्यो । जुन खेलमा नेपाल २-० ले पराजित भयो । त्यसअघि पनि नेपालले ‘क्लोज डोर’मा थाइल्यान्डसँग अनौपचारिक अभ्यास खेल खेलेको थियो । त्यसमा पनि नतिजा नेपालको पक्षमा आएको थिएन । पछिल्ला ४ खेलमा नेपालले एक बराबरी र तीन हार बेहोरेको छ । नेपालको पछिल्लो अवस्था हेरेर नेपाली समर्थकलाई नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड धैर्य गर्न आह्वान गर्छन् ।

उज्वेकिस्तान प्रस्थान गर्नु अगाडि बिदाइ कार्यक्रममा प्रशिक्षक डे वाइल्डले भने, ‘खेलाडी छनोट प्रतियोगिताका लागि मोटिभेटेड छन् । सबै एकजुट भएर अगाडि बढिरहेका छौं । तर, हामीले सुरुआती दुई खेललाई कम आँकलन गर्न मिल्दैन । पछिल्लो चार खेलमा हामीले जित हासिल गर्न सकेका छैनौं । त्यसैले श्रीलंका र लाओसविरुद्ध ढुक्क हुन सक्ने स्थिति छैन । त्यसैले अहिले नै उज्वेकिस्तानका बारेमा सोच्नु लापरबाही हुनेछ ।’
कप्तान एन्जिला तुम्बापो सुब्बा उज्वेकिस्तानको यो दुर्लभ अवसरलाई खेर फाल्न चाहँदैनन् । उनलाई थाहा छ नेपाली टोली विश्वकपको ढोका ढकढक्याउन कति नजिक छ भन्ने ।
नेपाली टोली अहिले उज्वेकिस्तानको तास्केन्दमा अन्तिम तयारी गरिरहेको छ । टोलीका प्रमुख खेलाडी तथा स्ट्राइकर सावित्रा भण्डारी यो अवसर नयाँ पुस्तालाई नयाँ बाटो देखाउने माध्यमका रूपमा लिन्छिन् । ‘एसियन कपमा पुग्न हामी मेन्टल्ली तयार छौं । खेलाडी सबैमा रिजल्टप्रतिको भोक छ,’ सावित्रा भन्छिन्, ‘हामीमाझ यो अवसरलाई क्यास गरे नयाँ बाटो देखाउने समय आएको छ ।’
कप्तान एन्जिला तुम्बापो सुब्बा उज्वेकिस्तानको यो दुर्लभ अवसरलाई खेर फाल्न चाहँदैनन् । उनलाई थाहा छ नेपाली टोली विश्वकपको ढोका ढकढक्याउन कति नजिक छ भन्ने । भन्छिन्, ‘अबको चार वर्ष हामी कता हुन्छौं थाहा छैन । अहिले राम्रो मौका छ । टिम स्पिरिट राम्रो छ । चार वर्षपछि के थाहा ? खेल्न पाउने हो कि होइन ।’