काठमाडौं । गण्डकी प्रदेश भलिबल र विभागीय टोली त्रिभुवन आर्मी क्लब क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगमा सोमबारकोखेलमा जित निकालेका छन् ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा पुरुषतर्फको पहिलो खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३-० को सोझो सेटमा हरायो ।
गण्डकीले खेल २५-१३ २५-२०, २५-१० ले आफ्नो पक्षमा पार्यो ।
लगातार पाँचौं जितसँगै पाँच खेलबाट १५ अंक जोडेको गण्डकी शीर्ष स्थानमा उक्लिएको छ । पाँचै खेलमा पराजित सुदुरपश्चिम अंकविहिन छ ।
आर्मीले पुरुषतर्फको दोस्रो खेलमा कोशी प्रदेश खेकुद विकाश बोर्डविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्यो ।
पहिलो सेट २१-२५ ले गुमाएको आर्मीले त्यसपछिका तीन सेट २५-१९, २५-२१, २५-२० ले आफ्नो पक्षमा पार्यो ।
लगातार तेस्रो जित निकालेको आर्मी पाँच खेलबाट आठ अंकका साथ चौथो स्थानमा छ । चौथो हार बेहोरेको कोशी समान खेलबाट तीन अंकका साथ सातौं स्थानमा छ ।
सोमबारै सम्पन्न महिलातर्फका खेलमा एभरेस्ट भलिबल क्लबले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई ३-० तथा नेपाल पुलिस क्लबले आर्मीलाई ३-२ को सेटमा पराजित गरे।