बृहत खेलकुद महोत्सव

बृहत खेलकुद महोत्सव: एलेक्सलाई स्वर्ण

काठमाडौं । केभिपीपीसीका एलेक्स महर्जनले बृहत खेलकुद महोत्सव अन्तर्गत ललितपुर जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा  स्वर्ण जितेका छन् ।

ललितपुर जिल्ला खेलकुद विकास समितीद्धारा आयोजित प्रतियोगिताको बिहीबार सम्पन्न फाइनलमा एलेक्सले आफ्नै क्लबका सुनिल महर्जनलाई ९-११, ११-९, ७-११, ११-३, ११-५ र ११-५ को सेटमा पराजित गरे ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका खेलाडीको पुरुष सिंगल्स ‘बी’ प्रतिस्पर्धामा सिवाइसीका राजेन्द्रमान श्रेष्ठ पहिलो भए । उनले फाइनलमा एलटिटीसीका सलिम ताम्राकारलाई ११-८, ८-११, ५-११, ११-५ र १२-१० ले हराए । एलटिटीसीका विभूष श्रेष्ठ र सोल्चापूखू स्पोर्टसका सुशिल वज्राचार्य तेश्रो भए ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गोड स्पिनका राजेश्वर महर्जनले फाइनलमा सिवाइसीका राजु शाक्यलाई ११-९, ११-८, ६-११ र ११-७ ले पाखा लगाउदै पहिलो भए । एपिएमका ठाकुर थापा र सिवाइसीका विक्रम श्रेष्ठ तेश्रो बने ।

विजेतालाई नेपाली कांग्रेस ललितपुर जिल्लाका सभापति जितेन्द्र मलेखु, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, ललितपुर जिल्ला टेबलटेनिस क्लबका अध्यक्ष उर्दिप जोशी, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सुदिल शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।  

तीनदिने प्रतियोगितामा करिब एक सय ८० खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।