प्रिन्स दाहाल

प्रिन्स र योनेक्स सनराइजको सम्झौता

काठमाडौं, १५ चैत । विश्व जुनियर ब्याडमिन्टनको वरीयताको शीर्षस्थानमा रहेका नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाललाई मंगलबार योनेक्स सनराइजले सम्झौता गरेको छ । 

योनेक्स सनराइजले प्रिन्सलाई ४ वर्षको लागि सम्झौता गरेको हो । सम्झौतामा योनेक्स सनराइजको तर्फबाट नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोला र प्रिन्स दाहालले हस्ताक्षर गरे । सम्झौताअनुसार योनेक्सले प्रिन्सलाई वार्षिक ८ लाख रुपैया नगदसँगै उनको लागि आवश्यक सबै खेल सामग्री उपलब्ध गराउनेछ । यस्तै सम्झौतामा हरेक अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागिता र जितको रकम समेत प्राप्त गर्ने उल्लेख छ । 

यस्तै, सम्झौताअनुसार प्रिन्सले इन्डोनेसिया वा भारतमा प्रशिक्षणको अवसर पाउनेछ । मंगलबार नै उनलाई आवश्यक खेल सामग्री र पोशाक हस्तान्तरण गरिएको छ । प्रिन्सले हरेक प्रतियोगिताको योनेक्सको लोगो अंकित खेल सामग्री प्रयोग गर्नेछ ।

योनेक्स सनराइजको तर्फबाट नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोलाले प्रिन्सको सम्भावना देखेर नै उनीसँग सम्झौता गरिएको र अन्य सम्भावना बोकेका प्रतिभावान् खेलाडीलाई पनि योनेक्सबाट सहयोग र सम्झौताको लागि बाटो खुलेको बताए । योनेक्स नेपालले यसअघि पनि प्रिन्ससँगै अन्य खेलाडीलाई खेल सामग्रीमा सहयोग गर्दै आइरहेको छ । विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले गत पुसमा निकालेको नयाँ वरीयता अनुसार प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा पुग्न सफल भएका थिए । यसअघि गत वर्ष सार्वजनिक वरीयतामा प्रिन्स तेस्रो स्थानमा रहेका थिए । सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता एक वर्षपछि परिवर्तन भएको हो ।