राष्ट्रपति रनिङ शिल्ड

पोखरा महानगरस्तरीय रनिङ शिल्डमा सैनिक च्याम्पियन

पाेखरा। सैनिक आवसीय मावि २१ पदक जित्दै पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा चौंथो मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ ।

तीन दिनसम्म भएकाे प्रतियोगितामा शैनिकले ११ स्वर्ण, तीन रजत र सात कांस्य पदक हात पार्यो। सैनिकलाई मंगलबार समापन समारोहमा प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरण बानियाँ, महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारलगायतले रनिङ शिल्ड प्रदान गरे ।

कालिका मावि पाँच स्वर्ण, पाँच रजत र सात कांस्यसहित १७ पदक जित्दै उपविजेता बनेको छ । पाँच स्वर्ण, तीन रजत र एक कांस्यसहित नाै पदक जितेर शहिद स्मृति मावि तेस्रो स्थानमा रह्याे । कालिका र शहिद स्मृतिले ट्रफी प्राप्त गरे ।

टिम इभेन्टतर्फ छात्र भलिबलमा गुरुकुल माविले स्वर्ण, कालिका माविले रजत र न्यू ग्यालेक्सी स्कुलले कांस्य पदक प्राप्त गरेको आयोजकले जनाएको छ ।

 छात्रा भलिबलमा जनप्रिय माविले स्वर्ण, शान्त माविले रजत र कन्या माविले कांस्य पदक हात पारे। शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।

छात्र कबड्डीमा बेथानी बोर्डिङले, कालिका माविले रजत तथा अमरसिंह मावि र त्रिभुवन शान्ति मावि कांस्य पदक हात पारेका छन्  । छात्रा कबड्डीमा रामेश्वरी माविले, गौरीशंकर माविले रजत तथा बेथानी मावि र कालिका माविले कांस्य पदक जिते । शीर्ष तीनले क्रमशः १५ हजार, १० हजार र २ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।

पोखराका १ सय १० विद्यालयका ३ हजार २ सय ५ विद्यार्थीले ६६, स्वर्ण, ६६ रजत र १ सय ४ कांस्य पदकका लागि प्रतिस्पर्धा  गरेका थिए । प्रतियोगितामाभलिबल छात्र/ छात्रा, कबड्डी छात्र/ छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल समावेश थिए ।

यो प्रतियोगितामा उत्कृष्ट भएका खेलाडी छनोट गरेर पुस १३ र १४ मा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा महानगरपालिकाकोतर्फबाट सहभागी हुने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का जानकारी दिए ।

च्याम्पियन सैनिक आवासीय मावि गत वर्ष पाँच स्वर्ण, चार रजत र ११ कांस्यसहित २० पदक जितेर उपविजेता बनेको थियो ।