एनएसजेएफ जिल्ला समन्वय शाखा पाल्पा

एनएसजेएफ जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा अर्याल

पाल्पा । खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा माधव अर्याल दोस्रो कार्यकालका लागि निर्विरोध चयन भएका छन् ।

जिल्लाका खेलकुद पत्रकारहरुको भेलाबाट शुक्रबार अध्यक्षमा अर्यालसहित देव पचभैया उपाध्यक्ष, विजय बौडेल सचिव, कमल अधिकारी कोषाध्यक्ष र दुर्गेस मल्ल सहसचिवमा सर्वसहमत चयन भएका थिए ।

यसैगरी तीन सदस्यमा कृष्ण कार्की, विष्णु खनाल र दयाराज न्यौपाने चुनिएका छन् । बाँकी एक सदस्य पछि चयन हुनेछन् ।

नवनिर्वाचित अध्यक्ष अर्यालले पाल्पाको खेलकुद पत्रकारितालाई अगाडि बढाउन सबै क्षेत्रको सकारात्मक सहयोगको खाँचो रहेको बताउँदै आगामी दिनमा खेलकुद पत्रकारिता तालिम सञ्चालन, अवार्ड कार्यक्रमका साथै अन्य रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।

यसअघि भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा जिल्ला अध्यक्ष रेखीराम रानाले आगामी दिनमा खेलकुद पत्रकारितामा रुचि राख्नेहरुको संगठनबाट अन्य पत्रकारलाई पनि यस क्षेत्रमा रुचि बढाउने गरी काम गर्नुपर्ने बताउनुभयो । उनले जिल्लामा खेलकुदको ‘बिट’ नभए पनि समग्रतामा बुझेर काम गर्नुपर्नेमा जोड दिए ।

एनएसजेएफका केन्द्रीय सदस्य प्रजित शाक्यले खेलकुद पत्रकारिता प्राविधिक विषय भएकाले पनि यस क्षेत्रमा रुचि जगाउनका लागि मैदानमै पुगेर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै उनले विधागत पत्रकारितामा खेलकुदले अलग्गै पहिचान राखेको र यो खेल पत्रकारिता गर्न खेलकुदप्रति लगाव हुनुर्ने बताए ।

जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले समन्वयकारी भूमिका निर्वाह गर्दै खेलकुदको क्षेत्रलाई पत्रकारितामा जोड्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष भरत शर्मा, प्रेस चौतारी नेपालका सचिव नारायण न्यौपाने, प्रेस सेन्टर नेपालका कार्यवाहक जिल्ला अध्यक्ष नवराज ज्ञवाली लगायतले खेलकुद पत्रकारिताका विषयमा धेरै पत्रकारलाई बुझाउका लागि तालिमको आवश्यकता रहेको धारणा राखे ।