काठमाडौं । गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।
ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रबार भएको महिलातर्फ खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीलाई जित दिलाउ दुवै गोल मयुरी राईले गरिन् । मधेशकी गीताकुमारी म्रिङचिङले एक गोल फर्काइन् ।
लिगमा दुई जित निकाल्दै गण्डकीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बिहीबार पहिलो खेलमा गण्डकीले बागमती प्रदेशलाई २-१ ले हराएको थियो । मधेशको भने दोस्रो हारपछि लिगमा शीर्ष दुई स्थानमा पुग्ने सम्भावना कमजोर भएको छ । मधेशले पहिलो खेलमा आर्मीसँग ७-० को हार सामना गरेको थियो ।
पुरुषतर्फ आर्मी र कर्णाली प्रदेशले जित निकालेका छन् । नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगितामा समूह ‘ए’ मा रहेको आर्मीले मधेस प्रदेशमाथि १०-१ को सहज जित निकाल्यो । आर्मीको जितमा मनोज चौधरीले ह्याट्रिक पूरा गरे । यसैगरी राजेन्द्र कार्की र अमरबहादुर गुरुङले दुई तथा देवसिंह धामी, प्रदीप राजवंशी र काशिराज राईले समान एक गोल गरे ।
आर्मीको यो दोस्रो जित हो भने मधेशले दोस्रो हार सामना गर्यो । आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो । मधेश भने कोशीसँग चुकेको थियो । पुरुषमा लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भैरहेको छ ।
पुरुषकै समूह ‘बी’ को खेलमा कर्णालीले बागमती प्रदेशलाई २-१ ले हरायो । कर्णालीको जितमा प्रेम भण्डारी र जिवा रावतले समान एक गोल गरे ।बागमतीका समीर घिमिरेले एक गोल गरे ।