काठमाडौं । नेपाली खेलकुदमा हक्की खेलको इतिहास पल्टाउने हो भने सात दशक लामो छ । विसं.२०११ सालमा स्थापना भएको नेपाल हक्की संघ राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सातौं खेल संघको रूपमा दर्ता छ । तर अस्तित्वमा आएको लामो समय भए पनि आम जनमानससामु हक्की खेल पुग्न सकेको छैन ।
२०४० सालमा पोखरामा भएको दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक हक्कीलाई समावेश गरिएको थियो । यसैगरी २०७३ मा विरानगरमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा पहिलो पटक महिला हक्कीको प्रतिस्पर्धा समावेश गरिएको थियो ।
२०५१ देखि २०६४ सालसम्म हक्कीका कुनै राष्ट्रिय प्रतियोगिता हुन सकेनन् । यहीँबाट यो खेलको ओरालो यात्रा सुरु भएको मानिन्छ । कुनै समय नेपालले दक्षिण एसियाली खेलकुदमा आफ्नो दरिलो उपस्थिति जनाउने गरेको थियो । नेपाली महिला टोलीले सन् २०१६ को सागमा कांस्य पदक पनि हात पारेको थियाे । सन् २०१९ यता भने नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन ।
हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ पनि हक्कीले आफ्नो साख बचाउन नसकेको स्वीकार्छिन् ।
स्थापनाकालमा निकै चर्चामा रहेको हक्की अहिले भने गुमनामजस्तै छ । यसको प्रमुख कारणमध्ये एक हो यो खेलले आफूलाई उपत्यकाबाहिर सीमित गर्नु । हक्कीका अधिकांश प्रतियोगिता उपत्यका बाहिर हुँदै आएको छ । अहिले नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता ललितपुरको च्यासल रंगशालामा भइरहेको छ । हक्कीको यो प्रतियोगिता लामो समयपछि काठमाडौं उपत्यकामा भएको हो ।

हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ पनि हक्कीले आफ्नो साख बचाउन नसकेको स्वीकार्छिन् । ‘हक्की सुरुआती कालमा यस्तो गुमनाम थिएन । स्थापनाकालमा यो खेल निकै राम्रो थियो । पहिला सानो गौचरन (अहिले मिनी फुटबल रंगशाला बन्दै गरेको) मैदानमा हक्की खेलिन्थ्यो । त्यतिबेला ४५ वटासम्म क्लब थिए । पछि यस्तो ग्याप भयो कि नेपालमा पनि हक्की खेलिन्छ र ? भन्ने स्थितिमा पुगेका छौं,’ महासचिव श्रेष्ठ सुनाउँछिन् ।
उनी हक्की पछाडि पर्नुका विभिन्न कारणहरू देख्छिन् । सरकारी र निजी क्षेत्रबाट हक्की खेलमाथि सहयोग भइरहेको छैन । संघको नेतृत्वबाट पनि कमीकमजोरी भइरहेको छ । विश्व खेलकुद हेर्ने हो भने हक्की चर्चित खेल हो । तर, नेपालमा दशकौं अघि सुरुआत भए पनि स्थापित गर्न नसकेको उनको ठम्याइ छ ।

पूर्वाधार र बजेटको कमी
महासचिव श्रेष्ठ नेपालमा हक्कीको विकास हुन नसक्नुको मुख्य कारण भौतिक पूर्वाधार र बजेट अभाव रहेको ठान्छिन् ।
‘विश्व हक्की निकै आधुनिक भइसकेको छ । प्रतियोगिताहरू टर्फ मैदानमा खेलिन थालिएको छ । तर हामी भने घाँसे मैदानमै खेलाइरहेका छौं । त्यो पनि मैदान कहाँ पाइन्छ भनेर खोज्नुपर्ने अवस्था छ । हामीसँग एउटा पनि मैदान छैन,’ उनले सुनाइन् ।
कम्तीमा एक खेल, एक पूर्वाधारको नीति अपनाइयो भने हक्कीजस्ता खेलको विकास गर्न निकै सहयोग पुग्छ । खेल विकासका लागि पहिलो सर्त भनेकै पूर्वाधार हो,’ श्रेष्ठले भनिन् ।
अहिले हक्कीको लागि धुलिखेलमा जग्गा पाएको महासचिव श्रेष्ठको भनाइ छ । त्यसको डिपिआर पनि तयार भइसकेको छ । यदि सरकारबाट साथ र सहयोग रह्यो भने हामी दुई वर्षमा टर्फ मैदान तयार पार्ने लक्ष्य रहेको उनको दाबी छ । ‘निरन्तर सरकारलाई ढोका ढक्ढकाइरहेका छौं । सरकारबाट बजेट प्राप्त भएमा दुई वर्षमा खेल्न योग्य मैदान तयार पार्छौं,’ महासचिव श्रेष्ठले भनिन्, ‘नेपालमा यसै पनि खेलकुदको बजेट निकै कम हुन्छ । राखेपले धेरै संघलाई हेर्नुपर्ने हुन्छ । हक्की कहिल्यै पनि सरकारको प्राथमिकतामा परेन । यहाँ पदक ल्याउने खेललाई मात्रै प्राथमिकता राख्ने गरिएको छ । तर पदक प्राप्त गर्न पनि पहिला त राम्रो तयारी हुनुपर्यो । त्यसका लागि बजेट नै चाहिन्छ । हाम्रो मात्र प्रयासले हक्कीलाई माथि उकास्न मुस्किल छ ।’

एक खेल, एक भौतिक पूर्वाधारको नीति अपनाएमा खेलको विकास गर्न सहयोग पुग्ने उनको तर्क छ । ‘खेल संघ दर्ता भइसकेपछि त्यसलाई संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी राखेपकै हो । कम्तीमा एक खेल, एक पूर्वाधारको नीति अपनाइयो भने हक्कीजस्ता खेलको विकास गर्न निकै सहयोग पुग्छ । खेल विकासका लागि पहिलो सर्त भनेकै पूर्वाधार हो,’ श्रेष्ठले भनिन् ।
ग्रासरुट कार्यक्रम
नेपाल हक्की संघ आफ्नो पुरानो साख फर्काउने प्रयासमा छ । त्यसका लागि संघले विभिन्न सरकारी विद्यालयसँगको सहकार्यमा ग्रासरुट कार्यक्रम सञ्चालन गरिरहेको छ ।
‘खेलाडी उत्पादनको प्रमुख आधार नै ग्रासरुट कार्यक्रम हो । त्यसैले हामीले काठमाडौं महानगरपालिकाका १० सरकारी विद्यालयसँगको सहकार्यका आधारभूत तालिम सञ्चालन गरिरहेका छौं । सातै प्रदेशका संघमार्फत विद्यालयस्तरमा हक्कीलाई पुर्याइरहेका छौं,’ महाचिव श्रेष्ठले भनिन्, ‘नयाँ खेलाडी उत्पादन नहुँदा हामी रिटायर्ड हुने बेला भइसकेका खेलाडी पनि मैदानमा उतार्न बाध्य छौं । यो ग्रासरुट कार्यक्रमले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने हाम्रो विश्वास छ ।’

योजना यु-१४ र यु-१९ राष्ट्रिय प्रतियोगिता आयोजना तथा राष्ट्रिय टोलीलाई बढीभन्दा बढी म्याच एक्सपोजर दिने योजनामा संघ छ ।
‘हामी यु-१४ र यु-१९ को राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने योजनामा छौं । यसअघि अहिले च्यासलमा भइरहेको प्रतियोगिताबाट सिनियर महिला तथा पुरुष राष्ट्रिय टोली बनाएर उनीहरूलाई बढीभन्दा बढी म्याच एक्सपोजर दिने हाम्रो लक्ष्य छ । राष्ट्रिय टोलीलाई भारतमा प्रशिक्षणको व्यवस्था मिलाउने छौं । खेल भएको खण्डमा त हो नि खेलाडीले एक्सपोजर पाउने । वर्षमा एक दुई वटा मात्र प्रतियोगिता हुँदा खेलाडीमा निराशा छाएको छ । अब हामी हक्कीलाई चलायमान बनाउने छौं,’ महासचिव श्रेष्ठले लक्ष्य सुनाइन्, ‘यसका लागि हामीले जिल्ला तथा प्रदेश संघले वर्षमा कम्तीमा पनि एउटा प्रतियोगिता आयोजना गर्नुपर्ने नियम बनाएका छौं । सोहीअनुसार कामहरू भइरहेका छन् । हामी पुरानो साख फर्काउने प्रयासमा छौं । तर यसका लागि सरकारी र निजी क्षेत्रको साथ र सहयोग भने चाहिन्छ ।’
