काठमाडौं । नेपाल हक्की संघको वार्षिक कार्यक्रम अनुसार राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता सुरु हुने भएको छ ।
पुरुषतर्फको प्रतिस्पर्धा बैशाख १६ देखि २६ तथा महिलातर्फको खेल बैशाख १८ गतेदेखि वैशाख २६ गतेसम्म हुने आयोजक जानकारी दियो ।
ललितपुरस्थित च्यासल फुटबल मैदानमा हुने प्रतियोगितामा आठ पुरुष तथा चार महिला टिमले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषमा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी तथा एपिएफसहित प्रदेशका मधेश, कर्णाली, गण्डकी, कोशी र बागमती सहभागी हुने छन् ।
एपिएफले पहिलो पटक सहभागिता जनाउँदैछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
महिलामा भने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ ।
पुरुष तथा महिला दुवैतर्फका शीर्ष शीर्ष तीनले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ ।
पुरुषतर्फका खेल सञ्चालन गर्न करिब ३५ लाख तथा महिलतर्फको खेल सञ्चालन गर्न करिब २५ लाख खर्च हुने संघको अनुमान छ ।