काठमाडौं । सरस्वती युथ क्लबविरुद्ध ४-३ को रोमाञ्चक जित निकाल्दै अन्नपूर्ण क्लब(आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन क्षेत्र छाडेको छ ।
जितसँगै ९ खेलमा आठ अंक जोडेको आरसिटी १२औं स्थानमा उक्लिएको छ । पराजित सरस्वती समान खेलबाट ६ अंकका साथ पुछारमा झरेको छ ।
यसैगरी आरसिटीको यो जितपछि एक खेल कम खेल्दै सात अंक जोडेको टुसाल क्लब रेलिगेसन क्षेत्रमा झरेको छ ।
बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यलय मैदानमा आरसिटीलाई जित दिलाउन प्रज्वल गुरुङले दुई तथा अजित गुरुङ र साजन पाख्रिनले समान एक गोल गरे । सरस्वतीका लागि विशेष लामा, सन्देश खत्री र नरेशकुमार खत्रीले समान एक गोल गरे ।
खेलको ३६औं मिनेटमा विशेषको गोलमार्फत सरस्वतीले अग्रता लिएको थियो । चार मिनेटपछि नै अजितले आरसिटीलाई बराबरीमा ल्याए ।
सन्देशले ५३औं मिनेटमा गोल गर्दा सरस्वती २-१ ले अगाडि बढ्यो । ६५औं मिनेटमा प्रज्वलले गोल गर्दा आरसिटी २-२ को बराबरीमा आयो ।
त्यसको दुई मिनेटपछि नै साजनले आरसिटीका लागि तेस्रो गोल गरे । ६७औं मिनेटमा प्रज्वलले व्यक्तिगत दोस्रो गोल गर्दा आरसिटीको अग्रता ४-२ मा पुग्यो ।
इन्जुरी समयमा नरेशले गोल गर्दै सरस्वतीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
प्लानिङ ब्वाइज युनाइटेड २२ अंकका साथ लिगको शीर्ष स्थानमा छ । उसलाई श्री भगवती क्लबले १८ अंकका साथ पछ्याइरहेको छ ।