काठमाडौं । नयाँबस्ती युवा क्लबविरुद्ध ४-२ को जित निकाल्दै च्यासल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
जितसँगै च्यासलले ९ खेलमा १४ अंक जोडेको छ । पराजित नयाँबस्ती समान खेलबाट आठ अंकका साथ १०औं स्थानमा यथावत छ ।
बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा च्यासललाई जित दिलाउन निरज कार्की, सुवास बमठकुरी र कुशल देउवाले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । नयाँबस्तीका लागि पूर्णबहादुर गुरुङ र जामिन लक्समले गोल गरे ।
खेलको १०औं मिनेटमा निरजको गोलमार्फत च्यासलले अग्रता लिएको थियो । आठ मिनेटपछि नै निमावाङ्गेल तामाङबाट आत्मघाती गोल हुन पुग्दा च्यासलको अग्रता दोब्बर बन्यो ।
सुवासले २३औं मिनेटमा गोल गर्दा च्यासल ३-० ले अगाडि बढ्यो । दुई मिनेटपछि नै पूर्णले नयाँबस्तीका लागि एक गोल फर्काए ।
कुशलले ७८औं मिनेटमा गोल गर्दा च्यासलको अग्रता ४-१ मा पुग्यो । ८९औं मिनेटमा जामिनले नयाँबस्तीका लागि दोस्रो गोल गरे ।
प्लानिङ ब्वाइज युनाइटेड २२ अंकका साथ लिगको शीर्ष स्थानमा छ । उसलाई श्री भगवती क्लबले १८ अंकका साथ पछ्याइरहेको छ ।
यसैगरी सरस्वती युथ क्लब ६ र अन्नपूर्ण क्लब (आरसिटी) पाँच अंकका साथ रेलिगेसन क्षेत्रमा छन् ।