काठमाडौं । जर्मन मूलका प्रशिक्षक योर्गन क्लोपलाई प्रतिस्थापन गर्दै लिभरपुलको मुख्य प्रशिक्षकको जिम्मेवारी लिनु वास्तवमै चुनौतीको विषय थियो । क्लोपको विरासत प्रतिस्थापन गर्नु एक हिसाबमा असम्भव जस्तै थियो । लिभरपुलका लागि क्लोप भगवान नै बनेका थिए । उपाधिका लागि संघर्ष गरिरहेको लिभरपुलले क्लोपको ९ वर्षे कार्यकालमा सबैखाले उपाधि जित्यो ।
क्लोपले गत वर्षको जनवरीको सिजन अन्त्यमा क्लब छाड्ने निर्णय गरेका थिए । क्लब व्यवस्थापन र समर्थकलाई राम्ररी थाहा थियो, क्लोपको विरासत कायम राख्न कठिन हुनेछ । तर परिवर्तन त चाहियो । क्लोपको उत्तराधिकारी को त ?
आफ्नो पहिलो सिजनमै बायर लेभरकुसनलाई जर्मन शीर्ष डिभिजन लिग, बुन्डेसलिगाको च्याम्पियन बनाएका जाभी अलोन्सो लिभरपुलको जिम्मेवारीका लागि पहिलो विकल्प थिए । क्लबकै पूर्वखेलाडीको हिसाबमा पनि अलोन्सोलाई समर्थकले क्लोपको उत्तराधिकारीमा हेरेका थिए । तर, अलोन्सोले थप एक वर्ष लेभरकुसनमै बस्ने मनसाय लिए । जसले गर्दा वर्तमान मुख्य प्रशिक्षक आर्ने स्लटको नियुक्तिलाई बाटो खुलेको थियो ।
स्लटको पहिलो सिजनमै लिभरपुल कीर्तिमानी २०औं इङ्लिस प्रिमियर लिग उपाधि जित्न सफल भयो । गत आइतबार मात्र लिभरपुलले घरेलु मैदान एनफिल्डमा टोटनहम हटस्परमाथि ५-१ को सानदार जित हासिल गर्याे ।
मे महिनामा स्लटलाई लिभरपुलले आधिकारिक रूपमा सार्वजनिक गरेको थियो । स्लट नेदरल्यान्ड्सबाट आएका एक अज्ञात प्रशिक्षक थिए । डच क्लब फेयनुर्डमा तीन सिजन बिताएका स्लटले २०२२-२३ मा शीर्ष डिभिजन लिग (एरेडिभिसी)को उपाधि दिलाएका थिए । यसबाहेक इङ्ल्यान्डमा कसैलाई पनि उनका बारेमा धेरै कुरा थाहा थिएन । यस कारण स्लटप्रति शंका उत्पन्न हुनु स्वाभाविक थियो ।

तर, स्लटको पहिलो सिजनमै लिभरपुल कीर्तिमानी २०औं इङ्लिस प्रिमियर लिग उपाधि जित्न सफल भयो । गत आइतबार मात्र लिभरपुलले घरेलु मैदान एनफिल्डमा टोटनहम हटस्परमाथि ५-१ को सानदार जित हासिल गर्याे । यो जितसँगै लिभरपुल ४ खेलअगाडि नै लिग च्याम्पिनयन बन्न सफल भयो । नोभेम्बरदेखि शीर्षस्थानमा आफ्नो पकड बनाएको लिभरपुलले १९८९-९० यता दोस्रो पटक लिग उपाधि जितेको हो ।
मे २०२३ मा फेयनुर्डमा तेस्रो सिजनलाई तयारी गरिरहँदा स्लटलाई टोटनहमको जिम्मेवारी सम्हाल्ने प्रस्ताव आएको थियो, जुन उनले सहजै अस्वीकार गरे । एक वर्षपछि स्लटले लिभरपुलको चुनौती अँगाले अनि पहिलो सिजनमै लिग उपाधि जित्ने प्रशिक्षक सूचीमा सामेल हुन सफल भए । स्लटअघि जोसे मोउरिन्हो (२००४-०५), कार्लो एन्सेलोट्टी (२००९-१०), म्यानुयल पेलेग्रिनी (२०१३-१४) र एन्टोनियो कोन्टे (२०१६-१७)ले यो उपलब्धि हासिल गरेका थिए ।
कसरी सम्भव भयो ?
पछिल्लो तीन सिजन लिभरपुलले औसतमा ८०.३३ अंक जोडेको थियो । यस हिसाबमा स्लटलाई कम्तीमा पनि यो औसत बराबर गर्नु थियो । यसमा स्लट सफल भएका छन् । बाँकी चारमध्ये तीन खेलमा मात्र जित हासिल गर्ने हो भने लिभरपुलले ९० अंकको आँकडा पूरा गर्नेछ । पछिल्ला ६ सिजनमा लिभरपुलले तीन पटक ९० भन्दा माथि अंक बटुलेको छ ।
विश्व प्रख्यात विंगर मोहम्मद सलाहकै कुरा गर्ने हो भने उनले ३४ खेलमा २८ गोल गर्दा १८ असिस्ट गरिसकेका छन् । गत सिजन ३२ खेल खेल्दा सलाहले १८ गोल र १० असिस्ट आफ्नो नाममा लेखाएका थिए ।
यसपालि स्लटको नेतृत्वमा टोली विगतका दिनमा क्लोपको खेल्ने शैलीभन्दा केही फरक ढंगले प्रस्तुत भयो । मिडफिल्डरद्वय रायन ग्राभनबर्च र एलेक्सिस म्याकलेस्टर ‘पिभोट’को जिम्मेवारीमा रहँदा लिभरपुल ४-२-३-१ मा प्रस्तुत हुँदै आएको छ । यो फर्मेसनले खेलको गति नियन्त्रण गर्ने र बलमाथि आफ्नो नियन्त्रण कायम राख्न सजिलो बनाउने गर्छ । क्लोपको नेतृत्वमा लिभरपुल मिडफिल्डमा प्रभुत्व जमाउँदै आक्रमणमा केन्द्रित रहने ४-३-३ फर्मेसनमा मैदान उत्रने गर्दथ्योे ।

नयाँ सिजनका लागि स्लटको लिभरपुलले एकमात्र खेलाडी क्लबमा भित्र्याएको थियो । इटालियन विंगर फेडेरिको कियसा टोलीमा अनुबन्ध भएका थिए । यस कारण स्लटलाई पुरानै टोलीबाट उच्च स्तरीय प्रदर्शन निकाल्नु चुनौती थियो । तर उनी सफल भए ।
लिभरपुलको जिम्मेवारीका लागि स्लट पूर्ण रूपमा तयार थिए । खेलाडीसँगको पहिलो भेटमै स्लटले २०१९-२० सिजनमा लिभरपुल च्याम्पियन हुँदा र क्लोपको अन्तिम सिजनको तथ्यांक प्रस्तुत गरेका थिए । गत सिजनको तुलनामा टोली केही हदसम्म कमजोर देखिन्थ्यो । त्यसैले खेलाडीलाई स्लटले पहिलो भेटमै तथ्यांकका आधारमा सुधार्नुपर्ने पक्षका बारेमा जानकारी गराएका थिए । यसको सकारात्मक परिणाम खेलाडीको प्रदर्शनमा देखियो ।
विश्व प्रख्यात विंगर मोहम्मद सलाहकै कुरा गर्ने हो भने उनले ३४ खेलमा २८ गोल गर्दा १८ असिस्ट गरिसकेका छन् । गत सिजन ३२ खेल खेल्दा सलाहले १८ गोल र १० असिस्ट आफ्नो नाममा लेखाएका थिए । अर्का विंगर कोडी गाक्पोले पनि पछिल्लो सिजनको रेकर्ड तोड्दै यस सिजन सबै प्रतियोगितामा गरेर १७ गोल गरिसकेका छन् ।
सलाह नचल्दा हुन त लिभरपुलले यसपालि यति सहजै लिगमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने थिएन । लिभरपुल यसपालि फरवार्ड लाइनमा ३२ वर्षीय सलाह केन्द्रित रह्यो भन्दा फरक पर्दैन । तर, च्याम्पियन टोलीलाई यतिले थेगिरहन हुँदैन ।
क्लोप एनफिल्डमा खेल हुँदा खेलाडी होटलमा सँगै बस्ने गर्थे । अहिले त्यस्तो अवस्था छैन । खेलाडीलाई आफ्नै घरमा बस्न अनुमति दिइएको छ । प्रशिक्षण सत्रहरू पहिलेभन्दा लामो भएको छच । तर चोटको जोखिमप्रति मध्यनजर गर्दै यी सत्रहरू कम तीव्र भएका छन् ।

लिभरपुलले ऐतिहासिक सफलता हासिल गर्नुको अर्को कारण स्लटको व्यवहार पनि हो । स्लट शान्त स्वभावका प्रशिक्षक हुन् । चार दिनको अन्तरालमा लिभरपुलले मार्चमा च्याम्पियन्स लिगमा पिएसजीविरुद्ध र लिग कप फाइनलमा न्युकासलविरुद्ध हार बेहोरेको थियो । यी दुई हार लिभरपुलका लागि अप्रत्याशित थियो । यो अवधिमा पनि स्लटको व्यवहारमा कुनै पनि परिवर्तन देखिएन । जसका कारण लिगमा लिभरपुललाई कुनै पनि कठिनाइ भएन ।
आगामी सिजनको चुनौती
यो सिजनको अन्त्यसँगै नियमित राइट ब्याक ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्डले क्लब छाड्ने हल्ला छ । दुई महत्त्वपूर्ण खेलाडी सलाह र कप्तान भर्जिल भान डाइकले क्लबसँग नयाँ सम्झौता गरिसक्दा भावी कप्तानका रूपमा हेरिएका आर्नोल्डले भने स्पेनिस जायन्ट रियाल मड्रिडलाई आफ्नो गन्तव्य सोचेका छन् । लिभरपुललाई आउने सिजन सबैभन्दा पहिले आर्नोल्डलाई प्रतिस्थापन गर्ने चुनौती रहनेछ ।
लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा पिएसजीविरुद्ध हार बेहोर्नुको प्रमुख कारण थियो, मिडफिल्डमा थकान । मिडफिल्डमा भरपर्दो विकल्प नहुँदा एउटै खेलाडी सबै खेलमा पहिलो रोजाइ बन्नुपर्ने बाध्यता रहँदै आएको छ । पिभोट रोलमा रहेका ग्राभनबर्चको विकल्प स्लटले पाएका छैनन् । यही पोजिसनमा खेल्ने जापानी खेलाडी वाटारु इन्डोले स्लटको विश्वास जित्न सकेका छैनन् । त्यसैले त हो ग्राभनबर्चले प्रिमियर लिगका ३४ खेलमै पहिलो रोजाइमा खेल्दा इन्डो सधैं बेन्चमा छन् । ग्राभनबर्चसँगै म्याकलेस्टर, डोमिनिक सोबोस्लाइले धेरै समय मैदानमा बिताएका छन् । सातौं युरोपियन कप जित्ने हो भने आगामी सिजन स्लट यो विषयमा गम्भीर बन्नु आवश्यक छ ।

सलाह नचल्दा हुन त लिभरपुलले यसपालि यति सहजै लिगमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने थिएन । लिभरपुल यसपालि फरवार्ड लाइनमा ३२ वर्षीय सलाह केन्द्रित रह्यो भन्दा फरक पर्दैन । तर, च्याम्पियन टोलीलाई यतिले थेगिरहन हुँदैन । स्लट र लिभरपुललाई पक्कै पनि भरपर्दा स्ट्राइकर आवश्यक छ । डियागो जोटा र डार्बिन नुनेजले अपेक्षित प्रदर्शन गर्न नसक्दा लिभरपुललाई घाटा भइरहेको छ । यो स्लटलाई राम्ररी थाहा छ । आगामी समर ट्रान्सफर विन्डो टोलीका लागि विशेष रहन आवश्यक छ ।