काठमाडौं । चार पटकको च्याम्पियन इटाली फेरी फिफा विश्वकपमा छनोट हुन असफल भएको छ ।
मंगलबार राति भएको प्लेअफ खेलमा बोस्निया हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटाली लगातार तेस्रो पटक विश्वकपबाट बाहिर भएको हो ।
निर्धारित समयको खेल १–१ को बराबरी भएपछि नतिजा पेनाल्टी सुटआउटमा आएको थियो । खेलमा अग्रता इटालीले नै बनाएको थियो । तर, ४१औं मिनेटमा एलेसान्द्रो बास्टोनीले रातो कार्ड सामना गरेपछि इटाली १० खेलाडीमा सिमित भयो ।
दोस्रो हाफमा बोस्नियाले बराबरी गोल फर्कायो । बोस्निायाको लागि निर्णायक पेनाल्टी १८ वर्षीय स्ट्राइकर इस्मिर बज्रक्तारेभिकल गरेका थिए ।
यसअघि इटाली सन् २०१८ र सन् २०२२ को विश्वकप पनि छनोट हुन सकेन ।
बोस्निया भने सन् २०१४ पछि दोस्रो पटक विश्वकपमा छनोट भएको छ । प्रशिक्षक सर्जेज बारबारेजले प्रभावशाली प्रदर्शन गराउँदै टिमलाई विश्वकपमा स्थान बनाउन सफल भएका छन् ।
वेल्सविरुद्ध पनि एक गोलले पछि पर्दा उनले नै टिमलाई जित दिलाएका थिए । त्यसपछि लयमा आएको बोस्निया इटाली जस्तो महारथी राष्ट्रलाई हराउँदै विश्वकपमा स्थान बनाउन सफल भएको छ ।
अब, बोस्नियाले समूह ‘बी’ मा क्यानाडा, कतार र स्विट्जल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
