आहा रारा गोल्डकप

मछिन्द्रलाई पराजित गर्दै एपिएफ आहाराराको फाइनलमा

तस्बिर: सुदर्शन रन्जित ।

काठमाडौं । मछिन्द्र फुटबल क्लबलाई बुधबार ३-१ अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ फुटबल क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सहिद स्मारक ए डिभिजन लिग लिडर मछिन्द्रलाई पराजित गर्ने क्रममा एपिएफका लागि सनिष श्रेष्ठ, प्रदीप लामा र कप्तान नविन लामाले एक एक गोल गरे । मछिन्द्रका ओमोलाजा करिमले सान्त्वना गोल गरे ।

पराजित भएसँगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ । अब, उपाधिका लागि एपिएफले मनाङ मर्स्याङ्दी क्लब र  त्रिभुवन आर्मी फुटबल क्लबको विजेतासँग खेल्नेछ ।

खेलको २५औं मिनेट एपीएफले अग्रता बनाोएको थियो । मणि लामाको फ्रिकिकमा सनिषले हेड गोल गरेका थिए । खेलको ४०औं मिनेटमा करिमले बराबरी गोल फर्काए । कप्तान रन्जित धिमालको फ्रिकिकमा करिमले बक्सबाट उत्कृष्ट हेड गर्दै बराबरी गोल गरे ।

खेलको ६८ मिनेटमा एपीएफले पुन: अग्रता बनायो । यस पटक प्रदीप लामाले गोल गरे । कप्तान नविन लामाले मैदानको दायाँ भागबाट गरेको क्रसमा बक्स भित्रबाट प्रदीपले मछिन्द्रका गोलरक्षक सूर्य अधिकारीलाई बिट गर्दै सहज गोल गरे ।

खेलको इन्जुरी समयको आठौं मिनेटमा कप्तान नविन लामाले एपिएफका लागि तेस्रो गोल गरे । आभाष लामिछानेको प्रहार गोलरक्षक सूर्य अधिकारीले रोकेको रिबाउण्ड बलमा नविनले खाली पोष्टमा गोल गरे ।

खेलको दोस्रो हाफमा मछिन्द्र १० खेलाडीमा सीमित बनेको थियो । रेफ्री कबिन्द्र ब्यञ्जनकारविरुद्ध आपत्ति जनाउँदै ‘डेड बल’ हिर्काएपछि करिमले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

प्रतियोगितामा दुबै टोली आफ्ना मुख्य खेलाडीबिना मैदान प्रवेश गरेका थिए । मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ सहित, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, विशाल राई, विमल घर्ति मगर, मनिष डांगी, सुनिल बल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन् । यता, एपीएफका आशिष लामा बन्द प्रशिक्षणमा रहेका छन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनमा भोलि (बिहीबार) हुनेछ ।