डोलबर्ग नायक बन्दा डेनमार्क युरोको क्‍वार्टरफाइनलमा

एम्सटरडम, (खेलाडी)- कास्पर डोलबर्ग एम्सटरडमको आफ्नो पुरानो मैदानमा नायक बन्दा डेनमार्कले शनिबार राति वेल्स्माथि ४-० को फराकिलो जित हासिल गर्दै युरोपियन च्याम्पियनसिप (युरो २०२०) को क्‍वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

घाइते युसुफ पाउलसेनको स्थानमा पहिलो रोजाईबाट खेल्ने मौका पाएका आयाक्सका पूर्व स्ट्राइकर डोलबर्गले डेनमार्कको जितमा दुई गोल गरेका थिए । १९९२ मा हेनरिक लार्सनपछि युरोको एउटै नकआउट खेलमा दुई गोल गर्ने डोलबर्ग पहिलो डेनिस खेलाडी बने । 

आयाक्सको घरेलु मैदान योहान क्रायफ रंगशालामा उपस्थित ठूलो संख्याका डेनिस दर्शकका बीच डोलबर्गले २७औं मिनेटमा उत्कृष्‍ट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । मिकेल ड्याम्सगार्डको पासमा पेनाल्टी बक्स भित्रबाट कडा प्रहारमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका डोलबर्गले दोस्रो हाफ सुरु भएको तीन मिनेट नबित्दै अर्को दर्शनीय गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

समूह चरणको पहिलो खेल दौरान ह्रदयघात भएर मैदानमै ढलेका क्रिस्टियन इरिक्सन पनि रंगशालामा टोलीको हौसला बढाउन उपस्थित हजारौं दर्शकमध्ये एक थिए । झण्डै एक हप्ताको अस्पताल बसाईपछि इरिक्सन निको भएर डिस्चार्ज भएका थिए । 

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा माथियास जेन्सनको पासमा जोआकिम माइह्‍वे डेनमार्कका लागि तेस्रो गोल गरे भने इन्जुरी समयको चौथो मिनेटमा मार्टिन ब्रेथह्‍वाइटले गोल गर्दै ४० को जित पक्का गरे । ब्रेथह्‍वाइटले गोलका लागि आन्द्रियास कोर्नेलिउसको पास उपयोग गरेका थिए ।

इन्जुरी समयको पहिलो मिनेटमै विपक्षी खेलाडीमाथि ब्याक ट्याकल गरेवापत ह्‍यारी विल्सनले रातो कार्ड सामना गरेपछि वेल्सले १० खेलाडीमा सिमित भएर मैदान छोडेको थियो । 

बाकुमा हुने क्‍वार्टरफाइनलमा डेनमार्कले नेदरल्यान्ड्स वा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ । नेदरल्यान्ड्स र चेक गणतन्त्रबीच आज राति नेपाली समय अनुसार पौने दश बजे अन्तिम १६ को खेल हुँदैछ । उक्त खेलको विजेताले एक सातापछि क्‍वार्टरफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।