नेपाली फुटबल

नेपालले विश्वकप छनोटको दुबै खेल बहराइनमा खेल्ने

काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनोटअन्तर्गत होम एन्ड अवे खेल नै बहराइनमा खेल्ने भएको छ ।

नेपालले बहराइनसँगको होम खेल चैत ८ गते दशरथ रंगशालामा खेल्ने तय थियो । तर, दशरथ रंगशाला जीर्ण भएपछि खेल बहराइन सारिएको हो । एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधिले दशरथ रंगशाला जीर्ण रहेको र खेल्न नहुने उजुरी गरेका थिए ।

न्युट्रल भेन्युमा खेल आयोजना गर्न एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आग्रह गरेको थियो । एन्फाले सुरुमा भुटानमा प्रतियोगिता गर्ने एएफसीलाई आग्रह गर्याे । तर, बहराइनले हाई अल्टिच्युड (उच्च पहाडीभेग) कारण भुटानमा नखेल्ने बतायो ।

त्यसपछि एन्फाले साउदीमा गर्ने भन्यो । बहराइनले त्यो पनि नमानेको र दुबै खेल बहराइनमा खेले आर्थिक सहयोग गर्ने प्रतिबद्दता देखाएपछि नेपालले दुबै खेल अवे मैदानमा खेल्ने पक्का भएको हो ।

‘हामीले अवे खेल भुटानमा खेल्न निर्णय गरेको थियौं । तर, बहराइनले मानेन । त्यसपछि साउदीमा खेल्ने भनिएपछि उसले केही सहयोग पनि गर्ने भएपछि दुबै खेल बहराइनमा हुने पक्का भएको छ,’ एन्फा एक उच्च अधिकारीले खेलाडी डटकमलाई भने ।

समूह ‘एच’ मा नेपालले दुबै खेल हारिसकेको छ । युएई, बहराइन र युमन सहित समूहमा नेपाल पनि छ । युएईले दुईमा दुई खेल नै जितेर शीर्ष स्थानमा छ । बहराइन र यमनको समान दुई खेलबाट दुई अंक छ ।

बहराइनसँग हुने खेलको लागि प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले नेपाली टोलीले तयारी गरिरहेका छन् ।