स्पेनिस ला लिगा

सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने जाभीको घोषणा

काठमाडौं । स्पेनिस महारथी बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले सिजनको अन्त्यसँगै पद छाड्ने घोषणा गरेका छन् ।

बार्सिलोनाकै पूर्व खेलाडी तथा स्पेनिस मिडफिल्डर जाभीले सन् २०२१ नोभेम्बरबाट क्लबको प्रशिक्षण जिम्मेवारी पाएका थिए । त्यसअघि उनी कतारी क्लब अल सादमा रहे ।

प्रशिक्षकको रुपमा जाभीले सन् २०२२-०२३ को ला लिगा उपाधि जिताएका थिए । खेलाडीको रुपमा सन् १९९८ देखि २०१५ सम्म क्लबमा रहँदा सात सय ६७ खेल खेल्दै ८५ गोल गरेका हुन् ।

शनिबार राति घरेलु मैदानमा भिल्लारियालसँग ५–३ ले पराजित भएपछि जाभीले यो निर्णय लिएका छन् । पछिल्लो समय बार्सिलोनाको स्वभाविक लय गुमाएको छ । जाभीको खेलाडीसँगै सम्बन्ध बिग्रेको समाचार आउन थालेका छन् । 

भिल्लारियालविरुद्धको हारपछि बार्सिलोना चिरपरिचित प्रतिद्वन्दी रियाल मड्रिडभन्दा दश अंकले पछि छ । ‘मैले आफूसँग भएको सबै दिएको छु,’ जाभीले भने, ‘म क्लबकै मान्छे हो । क्लबलाई सधै माथि राख्छु ।’

जाभीले बार्सिलोनामा खेलाडीको रुपमा २५ उपाधि जितेका थिए । उनी आधिकारिक रुपमा जुन ३० मा क्लब छाड्नेछन् । सन् २०१० को विश्वविजेता जाभीले क्लब अध्यक्ष जोआन लापोर्ट, उपाध्यक्ष राफा युस्ट र निर्देशक डेकोसँगको सल्लाहपछि यो निर्णय लिएको बताएका छन् ।

‘हामीले धेरै दबाबको बीच खेलेका थियौं । खेलाडीको भलाई लागि क्लबले परिवर्तन चाहन्छ । त्यसमा म साथ दिन्छु,’ जाभीले भने ।